PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

भरतपुरको मतपत्रको पोको आज पनि फुकेन



पहिलोपोस्ट

भरतपुरको मतपत्रको पोको आज पनि फुकेन

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको निर्वाचनका विषयमा परेको रिटको सुनवाई आज पनि सरेको छ। पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आगामी साउन २ गतेका लागि सारिएको हो। 

आजका लागि न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलास तोकिएकोमा समय अभाव कारण देखाउँदै सुनुवाई आगामी साउन २ गतेका लागि सारिएको हो। 

सुनुवाई पटक-पटक सरेपछि भरतपुर महानगरपालिकाको मतपरिणाम कहिले सम्म आउने भन्ने पनि अन्योल बढेको छ। गत वैसाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो। 

निर्वाचन आयोगले आवश्यक अनुसन्धान र प्राप्त प्रमाणका आधारमा मत गणनास्थल कब्जा भएको ठहर गर्दै पुनः मतदान गर्ने निर्णय गरेपछि वडा नम्बर १९ का एमालेका वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मत गणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।  

सर्वोच्चले गत असार ६ गते च्यातिएका मतपत्र, निर्वाचन आयोगको निर्णय, भरतपुरस्थित मूख्य निर्वाचन कार्यालयको प्रतिवेदन, प्रहरी रिपोर्ट लगायत मगाइसकेको छ। पुनः मतदान गर्ने वा मतगणनालाई निरन्तरता दिने भन्नेबारे गत शुक्रबारपनि समय अभाव भन्दै आजको लागि सुनुवाई सारिएको थियो।  महानगरपालिकाको २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। १९ को केही र २० नम्बर वडाको मतगणना मात्र बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell