PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नारायणगढ–मुग्लिन सडकखण्डमा एक हजार चार सय सवारीसाधन रोकिए



रासस

चितवन :नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन्। 

नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो।

जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उनले जानकारी दिए। 

ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो। त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो। जसमा ३०० बस, ४०० ट्रक र १०० हलुका सवारी साधन रोकिएको प्रहरी निरीक्षक पन्तले बताए। 

बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो। काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो। पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले बताए। 

यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेको थियो।

समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो। ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकेको हो। 

दिउसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ। सडकखण्डमा तीनवटा र्यापिट रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको छ। सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ। 

तीनवटा समूहले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन्। जसका कारण करिब तीन घण्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ। हालसम्म उक्त सडकको निर्माण कार्य ५१ प्रतिशत मात्रै सम्पन्न भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell