PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

वीर अस्पतालले टोमो थेरापी उपकरण ल्याउने, एलसी खोल्ने तयारी



रासस

वीर अस्पतालले टोमो थेरापी उपकरण ल्याउने,  एलसी खोल्ने तयारी

काठमाडौँ : वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ। 

जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो। अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतका अनुसार यो प्रविधिलाई वीर अस्पतालले भित्र्याउन लागेको बताए। 

हाल सो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध छ। यो सेवा लिन दुई लाख रुपैयाँसम्म बिरामीले खर्चिनुपर्छ। बस्नेतले भने,‘टोमो थेरापी सेवा हामी पाँच हजारदेखि दश हजारसम्ममा दिने तयारीमा छौँ, यसमा अति विपन्न, असहाय, गरिब बिरामीलाई भने निःशुल्क सेवा प्रदान गर्दैछौँ।’

स्वास्थ्य मन्त्रालयले यही आर्थिक वर्षमा उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउन अस्पताललाई ४० करोड विनियोजन गरेको थियो। अस्पताल र अमेरिकाको एक्युरे कम्पनीबीच उपकरण खरिदका लागि सम्झौतासमेत भइसकेको छ। अस्पतालले उपकरण खरिद गर्न एलसी खोल्ने तयारीमा जुटेको छ। 

क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुँदै आएका कोवाल्ट र लिन ज्याक उपकरणभन्दा टोमो थेरापी सेवा अत्याधुनिक र नयाँ प्रविधि मानिन्छ। विगतमा वीर अस्पतालले ती दुवै प्रविधिद्वारा सेवा दिँदै आएकामा विगत केही वर्षदेखि दुवै उपकरण बिग्रिएर थन्किएका छन्। 

हाल नयाँ र अन्यन्त्रबाट सिफारिस भइ आएका गरी दैनिक ५०/६० जना क्यान्सरका बिरामी अस्पतालमा आउने गर्छन्। उपकरणका अभावमा त्यस्ता बिरामीको उपचारका लागि अस्पतालले अन्य अस्पतालमा सिफारिस गर्ने गर्छन्। 

नयाँ उपकरण जडान भइसकेपछि अस्पतालले दुई सिफ्टमा सेवा दिने तयारी गरेको छ। निर्देशक बस्नेतले क्यान्सर उपचारका लागि अस्पतालमा आएजति सबै बिरामीलाई सेवा दिन तयार रहेको बताए। 

सबै विभागका लागि आवश्यक उपकरण आउँदै 
अस्पतालअन्तर्गत विभागलाई आवश्यक पर्ने सबै उपकरण पूरा गर्ने भएको छ। हाल अस्पतालमा १४ विभाग रहेका छन्। बस्नेतले भने,‘विभागका मागअनुसार आवश्यक उपकरणको खरिद प्रक्रिया अगाडि बढिसकेको छ, कुनै उपकरण जडान भए, कुनै आउँदै छन्।’
त्यसैगरी अस्पतालले नयाँ ग्यास्टोइन्डोस्कोपी उपकरण खरिद प्रक्रियासमेत सुरु गरेको छ। 

यसैबीच मुना मेमोरियल ट्रष्ट पाल्पाले अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक पर्ने ३७० वटा गाउन प्रदान गरेको छ। 

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका निर्देशक प्रा डा बस्नेतलाई दुई लाख बराबरका ती गाउन आज यहाँ आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell