PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

प्राधिकरणको प्रस्तावः प्राचीन बस्ती पुनःनिर्माणलाई थप ५० हजार



रासस

प्राधिकरणको प्रस्तावः प्राचीन बस्ती पुनःनिर्माणलाई थप ५० हजार

काठमाडौँ  : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित प्राचीन बस्तीको संरक्षण गर्न त्यहाँ बन्ने निजी आवासलाई थप ५० हजार रुपैयाँ प्रोत्साहनको प्रस्ताव अघि सारेको छ। 

प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्रका पुरातात्विक तथा पर्यटकीय महत्वका तीन र बाहिरका तीन बस्तीमा प्राचीन स्वरुप झल्कने गरी पुनःनिर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्न यस्तो प्रस्ताव अघि सारेको हो।

काठमाडौँको साँखु, ललितपुरका खोकना र बुङ्गमती, गोरखाका गोरखा दरबार र सङ्ग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवम् दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रमा रहेका करिब तीन हजार निजी घरलाई प्राचीन स्वरुप झल्किने गरी कलात्मक बनाएर पुनःनिर्माण गर्न थप सहयोगको प्रस्ताव अघि सारिएको हो। 

सो प्रस्ताव बुधबार बस्ने निर्देशक समितिको बैठकमा प्रस्तुत हुने र समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्रवक्ता यमलाल भुसालले जानकारी दिए। उनले भने,‘खासगरी घरको अगाडिको भाग प्राचीन स्वरुपमा निर्माण गराउनका लागि प्रोत्साहन गर्न प्राधिकरणले परम्परागत इँटा खरिदका लागि ५० हजार सहुलियत दिने योजना अघि सारेको हो।’

प्राधिकरणले प्राचीन बस्तीमा घर निर्माण गर्दा काठमा सहुलियत दिन तथा नक्सा पास निःशुल्क गर्न स्थानीय तहलाई सिफारिस गर्ने व्यवस्था मिलाउन पनि प्रस्ताव गरेको छ।

प्राधिकरणले शताब्दिऔँ पुरानो परम्परागत स्वरुपलाई कायम राख्दै त्यहाँको कला तथा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले प्राचीन स्वरुपमा घर बनाउन प्रोत्साहन गर्दै आएको छ।

त्यहाँको पर्यटकीय सम्भावना र पर्यटनमार्फत जीविकोपार्जनमा पनि टेवा पुग्ने भएकाले प्राचीन स्वरुपमा घर निर्माण गर्न प्रोत्साहन होस् भनेर यस प्रकारको निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले जानकारी दिए। 

पर्यटकीय ती प्राचीन बस्तीमा नेवार समुदायको बाहुल्य छ। साँखु काठमाडौँबाट १७ किलोमिटर उत्तरपूर्वी कुनामा रहेको प्राचीन नेवार बस्ती हो । शङ्ख आकारको यो बस्ती अहिले शङ्खरापुर नगरपालिकामा पर्छ।

बुङ्गमती र खोकना बस्ती ललितपुरको चक्रपथ क्षेत्रबाट दक्षिणपश्चिम आठ किलोमिटरको दूरीमा छ। खोकना विश्व सम्पदा सूचीका लागि सिफारिसमा परेको क्षेत्र हो।

महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण गर्नका लागि स्थानीयवासीलाई प्रोत्साहन गर्न सके त्यसले अन्ततः राष्ट्रको पहिचान र आम्दानीमा नै टेवा पुग्ने प्राधिकरणको विश्वास छ। 

प्राधिकरणको ६२ औँ कार्यकारी समितिको बैठकले प्राचीन बस्तीका सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि के गर्न सकिन्छ भनी अध्ययन गर्न कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा एवं डा हरिराम पराजुली रहेको कार्यदल गठन गरेको थियो।

कार्यदलले गरेको सिफारिसका आधारमा प्राधिकरण कार्यकारी समितिले नयाँ प्रस्ताव तयार गरेको हो। सम्पदा संरक्षण तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर प्राधिकरणले प्राचीन सम्पदायुक्त दरबार तथा अन्य संरचनाको सम्भव भएसम्म प्रबलीकरण गर्न जोड दिँदै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell