PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

के हो राष्ट्रपतिको १६ करोड रुपैयाँको गाडी खरिद प्रकरण?



सविन ढकाल

के हो राष्ट्रपतिको १६ करोड रुपैयाँको गाडी खरिद प्रकरण?

काठमाडौं : राष्ट्रपतिका लागि १६ करोड रुपैयाँको गाडी किन्न लागेको खबरले यतिखेर सामाजिक सञ्जाल र सडकदेखि सदन समेत तातेको छ। किन चाहियो राष्ट्रपति विद्यादेवी भण्डारीलाई यतिका मँहगो गाडी? प्रश्न सोध्नेहरु धेरै छन्।

'जनताकी छोरी विद्या भण्डारी' भन्नेहरु पनि 'किन यति महँगो सवारी' भनिरहेका छन् यतिखेर।

केही राष्ट्रपतिको बचाउमा पनि उत्तिकै सक्रिय भएर जुटेका छन्।

यथार्थ के हो त? किन किनिँदैछ गाडी?
 
राष्ट्रपति कार्यालयले २०७३ साल असार ९ गते सवारी खरिदका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। राष्ट्रपति र अन्य देशका राष्ट्राध्यक्ष नेपाल आउँदा सुरक्षाको हिसाबले प्रयोग गर्नेगरी सवारी खरिद गर्न पत्र पढाएको राष्ट्रपति कार्यलयका प्रवक्ता मोहन वाग्लेले बताए।
 
त्यसो त राष्ट्रपतिको औपचारिक भ्रमणमा एउटा मुख्य गाडी र रिजर्भमा अगुवा पछुवा गरी तीन गाडी रहन्छन्। राष्ट्रपति कार्यालयले पनि सोही अनुसार मुख्य र अगुवा पछुवा गरी तीनवटा गाडी माग गरेको छ। राष्ट्रपति कार्यालयले प्रस्ट पारेको छ - १६ करोड रुपैयाँ एउटामात्र गाडीका लागि होइन, कम्तिमा तीनवटाको लागि हो त्यो पनि अत्याधुनिक र सुरक्षित। 

राष्ट्रपतिको भ्रमणको कारकेडमा आउट राइडरदेखि अगुवा पछुवा खटिएका हुन्छन्। नेपालमा भएको १८ औं सार्क शिखर सम्मेलनमा यस्तै खाले गाडी चाहिएपछि भारतबाट ल्याइएको थियो। त्यतिखेर राष्ट्र प्रमुखलाई चढाउन भारतबाट ८ बटा बुलेट प्रुफ गाडी ल्याइएको थियो। त्यसैगरी भिभिआइपी आगन्तुकहरुका लागि मर्सिडिज तथा बिएमडब्लुका ३२ हाइ इन्ड कार भित्र्याइएको थियो।
 
भारत सरकारले बुलेट प्रुफ गाडी नि:शुल्क उपलब्ध गराएको थियो त्यतिखेर। तर, अन्य गाडीको भाडा भने नेपाल सरकारले तिरेको थियो।

विदेशबाट आउने भिभिआइपीले आफूसँगै थ्रेट पनि ल्याएको हुन्छ। त्यस्ता भिआइपीका लागि सुरक्षित गाडीको आवश्यकता हुने पूर्व सहायक रथी राजेन्द्र थापा बताउँछन्। भन्छन्, 'विदेशमा एकदेखि दुई करोड रुपैयाँमा भनेजस्ता बुलेट प्रुफ गाडी पाइन्छ।' भिआइपीको सवारी हुँदा अघिपछि र केही भइहाले भिआइपीले चढ्नेजस्तै अर्को गाडीसमेत सक्रिय गराइएको हुन्छ।
 
राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भए पनि त्यसपछि एक वर्षसम्म कुनै प्रकृया अगाडि नबढेको रक्षा मन्त्रालयले जनाएको छ।

पहिलोपोस्टसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नगिलाले भने, ‘राष्ट्रपति कार्यालयले अर्थ मन्त्रालयबाट आएको ४ करोड रुपैयाँको प्रतिवद्धता कार खरिदका लागि पर्याप्त नभएको भन्दै त्यसमा थप रकम माग गरेको हो।'

प्रवक्ता नगिलाले गाडी खरिद प्रकृया एउटामात्र नएर कारकेड सुरक्षामा प्रयोग हुने तीन सवारीसहित एम्बुलेन्ससम्म रहने बताए।
 
राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत् गाडी खरिद गर्न लागेको भन्ने हल्ला मात्र भएको उनको दावी छ। 'सेनालाई खरिद गर्न दिएको भन्ने हुँदै होइन। पत्रमा भएको कुरा पत्रमा नै सीमित भयो,' उनले भने।

राष्ट्रपति कार्यालयले पनि एक वर्ष अगाडि भएको पत्रचारको कुनै जवाफ र प्रकृया अहिलेसम्म अगाडि नबढेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell