PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु



पहिलोपोस्ट

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो। तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको हो।

राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उनले बताए। यसले गर्दा सडकमा सवारीको चाप बढेको छ।

आइतबार साँझदेखि रातको समयमा सो सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको छ। यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ। गएराति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो। सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ।

थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ। तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए। तीनवटा टिमले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell