PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

जाजरकोटको लहँ, जहाँ बाटो हिंडेको पनि पैसा तिर्नुपर्छ



रासस

जाजरकोटको लहँ, जहाँ बाटो हिंडेको पनि पैसा तिर्नुपर्छ

  • हेमन्त केसी 
जाजरकोट : बाटो हिंडेको पनि पैसा तिर्नुपर्छ भन्दा तपार्इँलाई अनौठो लाग्न सक्छ। तर जाजरकोटको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिंडेको पनि पैसा तिर्नुपर्ने बाध्यता छ। 

पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे दुई सयदेखि पाँच सय रुपैयाँसम्म स्थानीयलाई बुझाउन यो बाटोमा हिंड्ने यात्रु बाध्य छन्। 

साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्ने गरेका छन् । 

नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि यहाँका स्थानीय बाटो नहुँदा पाइलैपिच्छे रकम तिर्न बाध्य भएका हुन् । 

कडा चट्टान र भिरालो जमिनमा बम पड्काएर भत्किएको बाटो समयमै मर्मत नहुँदा दैनिक सय भन्दा बढी यात्रु यात्रा गर्न पैसा तिरेरै नजिकका स्थानीयको शरणमा पर्दै बाटो पार गर्ने गरेका छन् । 

बाटो पार गर्नका लागि डोरीको प्रयोगदेखि चट्टानमा उम्रिएका खरको सहारा लिनुपर्ने बाध्यता रहेको छ। बाटोमा केही सामग्री नल्याई खाली आए पनि, आउन र जान ज्यानको बाजी नै लगाउनुपर्ने हुन्छ, अलिकति तलमाथि हुने बित्तिकै नलसिंहगाड नदीमा परिन्छ।

यसरी ज्यान बचाउनकै लागि भएपनि पैसा तिर्न बाध्य भएको वारेकोट गाउँपालिका–९ का रवि महतराले बताए। 

निर्माणको जिम्मा लिएका ठेकेदारले जथाभावी पहिलेको बाटो भत्काएर बनाएको नयाँ बाटोमा मानिससम्म हिँड्न नमिल्ने पारेर मर्मत नगर्दा निकै समस्या भएको महतराले बताए। 

करिब १० किलोमिटर बाटो निर्माण हुँदैछ। यो बाटोमा माथिबाट ढुङ्गा खस्ने भएकाले अत्यन्त जोखिमयुक्त बाटोको रुपमा लिइँदै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell