PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

एनसेलको साढे ९ अर्ब लाभांश रोकियो, ठूला करदाताको पत्रपछि राष्ट्र बैंकले सटही रोक्यो



पहिलोपोस्ट

एनसेलको साढे ९ अर्ब लाभांश रोकियो, ठूला करदाताको पत्रपछि राष्ट्र बैंकले सटही रोक्यो

काठमाडौं: ठूला करदाता कार्यालयले पत्र पठाएपछि नेपाल राष्ट्र बैंकले एनसेलका विदेशी साझेदारलाई नगद लाभांश लैजान रोक लगाएको छ। राष्ट्र बैंकले बैंकिङ कार्यालयका साथै बाणिज्य तथा बिकास बैंकहरुलाई पत्र लेख्दै लाभांशमा रोक लगाएको हो।

एनसेलले विदेशी साझेदारलाई भुक्तानीका लागि १० अर्ब रुपैयाँ लाभांश प्रस्ताव गरेको थियो। यसका लागि लाभांश कर पाँच प्रतिशतसमेत बुझाएर राष्ट्र बैकमा सटही सुविधा माग गर्न गएको थियो। यसअघि भदौं २७ गते राष्ट्र बैंकले ८ अर्ब ३६ करोड रुपैयाँ लाभांश लैजान दिएको थियो।

ठूला करदाता कार्यालयले असार १८ गते नै पत्र पठाएर लाभांश लैजान रोक लगाउन भने पनि राष्ट्र बैंकले सोमबार पत्र पाएको नौं दिनपछि लाभांश भुक्तानी रोक्का राख्ने निर्णय गरेको हो।

ठूला करदाता कार्यालयले एनसेलको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्डिङका तत्कालीन अन्तर्निहीत स्वामित्वकर्ता टेलिया कम्पनी, अहिलेको स्वामित्वकर्ता एक्जियटालाई लाभांश वा कुनै पनि रकम नेपाल बाहिर लैजान रोक लगाउन आग्रह गरेको थियो।

राष्ट्र बैंकले ठूला करदाताको आग्रहमा अर्को ब्यवस्था नभएसम्मका लागि भुक्तानी प्रयोजनका लागि विदेशी मुद्राको सटही सुविधा उपलब्ध नगराउने निर्णय गरेको हो। पत्रमा विदेशी विनिमय विभागको कामु कार्यकारी निर्देशकको हैसियतमा सुनिल उदासले हस्ताक्षर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell