PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा यात्रु बस तोडफोड, धरानमा नेकपाका चार कार्यकर्ता पक्राउ



रासस

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा यात्रु बस तोडफोड, धरानमा नेकपाका चार कार्यकर्ता पक्राउ

चितवन : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रु बसको सिसा फुटाएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँ आइरहेको ना ६ ख १०८५ नम्बरको बसमा स्कुटर चढेर आएका दुई जनाले ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट बसको झ्यालका सिसा फुटेका छन्। 

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ। सो पार्टीले आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको छ।

त्यस्तै, आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण  सुनसरीका अधिकांश शैक्षिक संस्था खुलेका छैनन्।

बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, नताशा सुवेदी, सचिवालय सदस्य पुष्प न्यौपाने र आर्यन अधिकारीलाई सोमबार राति धरानको भानुचोकबाट प्रहरीले पक्राउ गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell