सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।
उनले यसैहप्ता जर्मनीमा सम्पन्न भएको जि२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गरेका थिए।
सम्मेलनमा सहभागी भएर मङ्गलबार स्वदेश फर्किएका राष्ट्रपति इनले मन्त्रिपरिषदको बैठकलाई सम्बोधन गर्दै वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा आफूले राखेको बताएका हुन्।
उनले शान्तिपूर्ण समाधान नै कोरियाली प्रायद्वीपको समस्या समाधानको एकमात्र बिकल्प बताए।
उनले बर्लिनमा विश्व समुदायलाई सम्बोधन गर्दै आफूले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उत्तर कोरियाको सहयोगका लागि अपेक्षा गरिएको जानकारी गराएका थिए।
प्रस्तावमा कोरियाले समर्थन गरेमा र शान्ति वार्ताका लागि तयार भएमा यसले कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सहयोग पुग्ने भएकोले आफूले सो प्रस्ताव गरेको राष्ट्रपति इनले जानकारी दिए ।
सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध अन्त्यपछि यी दुई देश टुक्रिएका र त्यसपछि दुई देशलाई एक बनाउने र कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना गर्ने सम्बन्धी कुनै वार्ता भएको छैन।
त्यसैले यस वार्ताले दुई देशका साथै कोरियाली प्रायद्वीपमा स्थापना हुने दिगो शान्तिले यस क्षेत्रमा नै सहयोग पुग्ने हुदा त्यहाँ शान्तिको स्थापना महत्वपूर्ण काम भएको उनको भनाई छ।
उत्तर कोरियाले पछिल्लो समय जारी राखेको आणविक परीक्षणका कारण यस क्षेत्रमा तनाव उत्पन्न हुने क्रम जारी नै छ। तनावका कारण उत्तर कोरिया विश्व समुदायबाट पनि एक्लिँदै गएको महसुश बिगतदेखि नै भइरहेको छ।
उत्तर कोरियाले गएको कम्तीमा दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ। साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ।
गत हप्तामात्र पनि उसले लामो दुरीसम्म मार हान्न सक्ने खालको अर्को परीक्षण गरेको थियो।
उत्तर कोरियाले विगतदेखि नै आफूले अमेरिकासम्म मार हान्न सक्ने क्षमताको ब्यालेस्टिक बनाउने बताउँदै आएको छ। कोरियाको यो योजनालाई अमेरिकाले असम्भव कुरा भन्दै आएको छ।रासस/सिन्ह्वा/एएफपी