
काठमाडौँ : दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको छ।
जसमा नेकपा एमाले १५१, नेपाली कांग्रेस १२२, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख/अध्यक्षमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख/अध्यक्षमा विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, कांग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन्।
उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १७५, कांग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम सात, लोकतान्त्रिक फोरम छ तथा जनमोर्चा र राप्रपाका दुई-दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस