PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'म यस्तो गीत गाउँछु'का पल र पूजा यस्तो 'याक्सिडेन्ट'ले बने कलाकार



पहिलोपोस्ट

'म यस्तो गीत गाउँछु'का पल र पूजा यस्तो 'याक्सिडेन्ट'ले बने कलाकार

काठमाडौं: 'तँ त्यस्तो काम छोडेर खुरुक्क घर फर्की'- बुबाको यस्तो कुराले कहाँ मेट्थ्यो र पलको टिभी स्क्रिनमा आफ्नो नाम लेखाउने चाहा? उनले मानेनन्। एसएलसी परिक्षा दिएर दाङ, रामपुरबाट काठमाडौं आएका उनको सपना नै थियो। एसएलसी दिएर दाजु नितेश चन्द जस्तै भिजुअल एडिटर बन्ने।

पललाई एउटै लोभ थियो एडिटर बन्नुमा- टिभीमा आफ्नो नाम देखिन्छ भन्ने। त्यसैले उनले प्राविधिक ट्रेनिङ लिए। काम सुरु गरे। 'खुब रमाइलो लाग्छ एडिटिङको काम। पर्दामा देखिनेहरुलाई राम्रो बनाइदिन धेरै मिहेनत गरें', पल यसरी सम्झन्छन् भिडियो एडिटिङको सुरुवाती दिन,'कामलाई यति सिरियस्ली लिइएछ कि रात रात भर अनिदो बसेर पनि काम गरें।'



नेपाल टेलिभिजनबाट 'अर्थको अर्थ' कार्यक्रम प्रशारण हुन्थ्यो। उक्त कार्यक्रमका लागि भिडियो एडिटर थिए पल। एडिटिङको सबै काम सक्काउथे। क्रुको नाम क्रेडिट लाइनमा दिने बेलामा 'सम्पादन- पल शाह' चाहिं ठूलो बनाएर डिजाइन गर्थे। भने,'त्यपछि घरमा फोन गरेर भन्थें यो कार्यक्रम गेर्नु है लास्टमा मेरो नाम देखाउँछ।' उनी निकै उत्साही सुनिए। तर परिवार खुसी थिएन।

छोराको नामको अगाडी मेजर पल शाह लेखाउने सपना बोकेका बुबाको लागि सम्पादक पल शाह पढ्न पर्नु तितो यथार्थ मात्र थियो। त्यसैले उनले पललाई पटक पटक दाङ फर्किन भने। पल मानेनन्। बिस्तारै म्युजिक भिडियो एडिटिङ गर्न थालेका उनलाई मोडलिङ र म्युजिक बारे केही ज्ञान हुन थाल्यो। उनलाई लाग्थ्यो- यसरी नाच्न र अभिनय गर्न त म पनि सक्छु होला। 'जावन स्कूल रहेछ। सिकेर नसक्किने। मैले जीवनमा अर्को एउटा पाठ पढें जब पहिलेपटक मोडलिङ गर्ने अवसर पाएँ।'

सन् २०१३ मा पहिलोपटक सुनिल गिरीको गीत 'को होला त्यो मसँग आँखा जुधाउने' र हेमन्त रानाको 'हुन्न हुन्न' बोलको गीतमा अभिनय गर्ने अवसर जुर्यो। अभिनय सिकेको थिएनन्। तर उनले दुबै गीतलाई नाईं भनेनन्। 'भिडियो एडिट गर्दा गर्दै कन्फिडेन्स जागेको थियो गर्न सक्छु भन्ने।' रात रातभर भिडियो एडिट गरेका उनलाई भिडियोमा नै देख्खिन पाउनुले नयाँ जोस थपिदियो। गीत केही हदमा सफल भयो। तर पलको चर्चा पहिलो भिडियोले चुलाएन। गीतमा उनको अपोजिटमा फिचरिङ गरेकी थिइन् प्रकृती श्रेष्ठले।



पल शाह अहिले चर्चामा रहेका कलाकारमध्य एक हुन्। उनी रुचाइएका छन्। यो कुरा उनको फ्यान फलोइङ लिस्टले पुस्टी गर्छ। पहिले गीतले नदिएको चर्चा 'हेलो हनिबनी' पछि एकाएक माथी आयो। गीत मात्र होइन गीतको भिडियो र एकसाथ प्रकृती/ पलको जोडीलाई नेपाली दर्शक, स्रोताले चिने। होम प्रोडक्शन 'योर स्टाइल'को सो गीतले उनलाई मोडल पनि बनायो। त्यसपछि उनले कति गीतमा काम गरे उनले नै गनेका छैनन्।

'प्लान गरेर होइन म एक्सिडेन्टले कलाकार भएको मान्छे हुँ। फिल्ममा ब्रेक पनि सोचेको थिईंन। तर जे नसोच्यो त्यो नै हुँदै जाने रैछ। सोही अनुरुप आफूले काम गर्न सक्नुपर्यो',उनको अनुभव बोल्यो। अहिले क्रुको नाम स्क्रोल हुँदा सुरुमा पलको नाम आउँछ। यसमा पल खुशी छन्। अनि उनको परिवार पनि। पलले 'नाईं नभन्नु ल'बाट फिल्ममा डेब्यु गरे। उनी अभिनित जोनी जेन्टलम्यान र म यस्तो गीत गाउँछु प्रदर्शनको तयारीमा छन्।

पलसँग प्रदर्शन तयारीमा रहेको फिल्म 'म यस्तो गीत गाउँछु'मा जोडी बाँधेकी अभिनेत्री पूजा शर्मा पनि एक्सिडेन्टले फिल्ममा लागिन्। हिमालय पत्रिकाको लागि मनोरञ्जन बिटमा काम गर्थिन् उनी। फिल्म 'धन्दा'को पत्रकार सम्मेलन थियो। फिल्म युनिटलाई प्रश्न गरेकी उनलाई जवाफको सट्टा प्रस्ताव पो आयो। त्यो पनि फिल्ममा अभिनय गर्ने।



आर्यन सिग्देलको अपोजिटमा डेब्यु गर्न पाउनु पूजाको लागि सामान्य कुरा थिएन। त्यस समय चर्चामा रहेका आर्यन सिग्देलसँग स्क्रिन सियर गर्ने भनेपछि उनको परिवारले पनि नाईं भनेन। पूजाको पनि अभिनयको सुरुवात म्यूजिक भिडियोबाट नै भएको थियो।

एसएलसी दिए लगत्तै उनले म्यूजिक नेपालमा संलग्न आफन्त र परिवारलाई घुर्की लगाइन्- 'एउटा भिडियो नखेली त कलेज भर्ना नै हुँदिन। म पढ्न छोड्छु।' छोटो कपाल, नङमा रङ्ग भर्न समेत नसिकेकी पूजालाई मोडल बनाउनु सजिलो काम थिएन। तर पूजाको म्युजिक भिडियोमा देखिने होडले छोडेन। उनी भाग्यमानी ठहरिन्।

उनले गीतमा अभिनय गर्ने भइन्, सुगम पोखरेलको गीत। 'पाठशाला' उनको डेब्यु भिडियो। गीतमा उनको छोटो कपालले साथ नदिएपछि विगको प्रयोग गर्नु परेको प्रसङ्ग निकै रमाएर सुनाइन्। भन्छिन्,'त्यही भिडियोपछि मैले नङ पोलिस गर्न सिकेको।' लगत्तै प्रशान्त तामाङद्वारा रिमेक गीत 'असारे महिनामा' विवाहित महिलाको भूमिका निभाएकी थिइन् पूजाले। उक्त भिडियोमा देखेपछि उनलाई फिल्मको अफर आएको हो।

हालसम्म ६ फिल्ममा अभिनय गरेकी छिन्। मधुमास, चङ्खे सङ्खे पङ्खे, प्रेमगीत, अझै पनि लगायत फिल्ममा अभिनय गरेकी छिन्।



यि दुई एक्सिडेन्टल कलाकार पल र पूजा अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' असार ३० गते आउँदो शुक्रबारबाट प्रदर्शन हुँदैछ। फिल्मकी निर्मात्री समेत रहेकी पूजाले फिल्म निर्माण बारे पनि केही जानकारी राखेको बताइन्। फिल्मलाई निरन्तरता दिने उनको सोच छ। पल पनि फिल्मलाई व्यवसायिक बनाउनका लागि भएपनि आफूले फिल्ममा लगानी गर्न चाहेको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell