PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नारायणगढ–मुग्लिन सडकः उच्च जोखिमका ४५ घर स्थानान्तरणको तयारी



रासस

नारायणगढ–मुग्लिन सडकः उच्च जोखिमका ४५ घर स्थानान्तरणको तयारी

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराको उच्च जोखिममा रहेका ४५ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढाइएको छ। 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उनीहरुलाई भौतिक संरचनाको मुआब्जा माग गरी निवेदन दिनका लागि आज सातदिने सूचना जारी गरिएको छ।

त्यसैगरी मुआब्जा निर्धारण गर्न सहायक प्रजिअ नेत्रप्रसाद शर्माको संयोजकत्वमा भवन तथा सहरी विकास डिभिजन कार्यालय र नारायणगढ–मुग्लिन सडक आयोजनाका एक एक इञ्जिनियर सदस्य रहेको समिति गठन गरिएको छ।

भट्टका अनुसार बस्ती स्थानान्तरणका लागि जोखिममा रहेका घर भएको स्थानीय तह भरतपुर महानगरपालिका– २९ र इच्छाकामना गाउँपालिकालाई उचित ठाउँ खोज्न आग्रह गरिएको छ। 

सडकको भित्तो काटेर सडक फराकिलो बनाइएपछि ठाउँ ठाउँमा पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न सडक आयोजनाले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गरेको थियो।

आयोजनाका सामाजिक विकास तथा पुनर्वासविज्ञ शिवराज सेढाईँले सडकको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएका थिए। 

सेढाईँका अनुसार त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभार खोला, काली खोला, टोपे खोलालगायत क्षेत्रमा रहेका घर जोखिममा छन्। भित्तो काटिएका र नकाटिएका पहाडबाट पहिरो खस्न सक्ने जोखिम देखिएकाले ती घर स्थानान्तरणका लागि सुझाव दिइएको सेढाईँले बताए। 

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आगामी वर्षको बजेटबाट मुआब्जा दिने गरी ती घर अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरिएको छ।

सो सडक राष्ट्रिय राजमार्गको अति महत्वपूर्ण सडकभित्र पर्छ। यस्ता सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटर सडकको भागमा पर्छ। ती अधिकांश घर सडकको भागमा नै पर्छन्।

उनीहरुले भौतिक संरचनाको भने सरकारी नियमअनुसार मुआब्जा पाउनेछन्। अति जोखिममा रहेका घर मात्र तत्कालका लागि स्थानान्तरण गर्न भनिएको हो। खनालका अनुसार सडकको मापदण्डअनुसार घर भत्काउने हो भने दासढुङ्गादेखि मुग्लिनसम्मका कुनै पनि घर सडक छेउमा बाँकी रहँदैनन्। 

सडकको एकापट्टि नदीको तीरमा साना घर छन् भने अर्कापट्टि छेउमा ६० मिसम्म अग्ला पहाड छन्।  सडक छेउमा होटल, किराना पसल, ग्यारेजलगायत व्यवसायसहित बसोबासका लागि पनि घर बनाइएका छन्। 

नारायणगढ– मुग्लिन सडकखण्डमा असारयता मात्र दैनिकजसो पहिरो खसेर नेपाल प्रहरीका भ्यान र ट्रक बगाएको थियो। त्यस्तै तीन प्रहरीको मृत्यु भएको र एक अझै बेपत्ता छन्। सडकबाट चिप्लिएर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। एक जनाको भने उद्धार गरिएको थियो। पहिरोका कारण हाल सो सडकमा राति आवागमनसमेत बन्द गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell