
वासिङ्टनः अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ।
जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो।
वार्ताका क्रममा उनीहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो।
तर सो विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने अस्वीकार गरेका थिए। उनले आफ्नो भेटका क्रममा रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीका बारे भने कुरा नभएको बताएका थिए।
राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले भने त्यसको पनि खण्डनको स्वरुपमा यो खुलासा गरेको हो। ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले दुई नेताबीच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको जानकारी दिएका छन्।
भेटमा दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए।
रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन्। सन् २०१६ को आमनिर्वाचनमा रुसको संलग्नताको कुरा गतवर्ष नै बाहिर आएको थियो। यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने छैन।
यसैगरी उनीहरुबीच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो। उत्तर कोरियाप्रति रुस विगतदेखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो।
राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बताएका थिए। सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो बिषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन्। रासस/सिन्ह्वा