PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पुष्पलाल ब्याडमिन्टनमा सेनाको वर्चस्व : तामाङ दिदीभाईद्वारा उपाधी रक्षा



पहिलोपोस्ट

पुष्पलाल ब्याडमिन्टनमा सेनाको वर्चस्व : तामाङ दिदीभाईद्वारा उपाधी रक्षा

काठमाडौं :  विभागीय टोली नेपाली सेनाका खेलीडले योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधिमा वर्चस्व कायम राख्दा तामाङ दिदीभाईले उपाधि रक्षा समेत गरेका छन्।

 प्रतियोगितामा संचालित ९ विधामध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो वर्चस्व कायम गरेको हो। सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गर्ल्स यु–१७ र यु–१५ एकलमा जित हात पारेको हो। ९ विधा मध्ये २ विधा ब्वाईज यु–१५ एकल र भेट्रान्स ४५ माथिको विधामा मात्र सेनाले उपाधि जित्न सकेन।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा सेनाका रत्नजित तामाङले सेनाकै नविन श्रेष्ठलाई २३-२१, २१-१७ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन्। यस्तै महिला एकलतर्फ पनि सेनाकी नङ्गशलदेवी तामाङले आफ्नै क्लबकी अमिता गिरीलाई २१-१४, १९-२१, २१-८ हराइन्।

विजेताले नगद ५० हजार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। यस्तै तृतीय स्थान हात पार्ने खेलाडीहरुले नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राए।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पुरुष जोडीमा सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले पुलिसका बिष्णु कटुवाल र दिपेश धामीको जोडीमाथि २१-१७, २१-१८ को सोझो सेटमा जित हात पारे।

खेल सामाग्री निर्माता अन्तराष्ट्रिय संस्था योनेक्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला जोडीतर्फ सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपीएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङको जोडीलाई २१-११, १६-२१, २१-१४ ले पराजित गरे।

यस्तै ब्वाईज यु–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१-२३, २१-१६, २१-१५ले, ब्वाईज यु–१७ मा सेनाका प्रफुल महर्जनले सेनाकै पविन लिङ्गथेपलाई २१-९, २१-१६ ले पराजित गर्दै उपाधी हात पारे। गर्ल्स यु–१५ र १७ एकल दुवैमा सेनाकी रसिला महर्जनले जित हात पारिन्। उनले यु–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१-१२, २१-१७ ले तथा यु–१७ मा बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१-१०, २१-६ ले पराजित गरिन्।

पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १० हजार, ७ हजार र ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

प्रतियोगिताको भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई हराए। विजयी खेलाडीहरुले खेल सामाग्री प्राप्त गरे।

कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको संझनामा २०६६ सालमा र्‍याङकिङ प्रतियोगिताको रुपमा सुरु भएको प्रतियोगिता छैटौं संस्करणमा आई पुग्दा खुला प्रतियोगिताको रुपमा संचालन हुनुका साथै यसै प्रतियोगिताबाट अन्तराष्ट्रिय संस्थालाई प्रायोजकको रुपमा पाएको छ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको अर्को संस्करण मोफसलमा आयोजना गरिने नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए। मोफसलमा पनि ब्याडमिन्टन खेलको विकास र विस्तारमा यस खेलले महत्वपूर्ण योगदान गर्ने विश्वासका साथ अर्को संस्करण देखि मोफसलमा यस खेललाई आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell