PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

प्राधिकरण निर्देशक समितिको बैठकः एक खर्ब ४५ अर्बको बजेट पारित



रासस

प्राधिकरण निर्देशक समितिको बैठकः एक खर्ब ४५ अर्बको बजेट पारित

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ। 

प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो।

समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गरेको थियो। 

बैठकमा समितिका उपाध्यक्ष भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए। उनले भने,‘अहिलेसम्म साढे दुई हजार घर पनि नबनेको देखियो, कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो, प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ।’

निर्माणाधीन घरको सङख्या एक लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी गराएका थिए। उनले भने,‘म आउनुअघि एक हजार घर पनि बनेका थिएनन्, अहिले ४० हजार घर निर्माण सम्पन्न भएका छन्, ५० हजार विद्यालय पुनर्निर्माणका क्रममा छन्।’

प्राधिकरण ऐनअनुसार पुनर्निर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ। ३१ जिल्ला हेर्ने गरी बनेको संगठन संरचना पनि निर्देशक समिति बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell