PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला



सविन ढकाल

रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला

काठमाडौं : १५ वर्ष अगाडि भएको रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई बुधवार जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला सजाय सुनाएको छ। 

न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको रजिष्ट्रार ध्रुव उप्रेतिले जानकारी दिए ।

काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो। घटना भएको १२ वर्षपछि प्रहरीले घटनामा संलग्न दुईलाई पक्राउ गरेको थियो। गुरुङ र चौहान घटनामा कन्ट्र्याक्ट किलर भएको प्रहरीको दावी थियो।  

यस्तो छ गुरुङ र चौहान इतिहास 

मनराज गुरुङ दोलखाको खारे घर भइ हाल काठमाडौंको सामाखुसी टाउन प्लानिङमा बस्दै आएका थिए। उनी साल्सा डान्स बार सञ्चालकसमेत हुन्। २०६० साल जेठ १७ गते गोलढुंगामा म्यानपावर संचालिका लीलामाया गिरीलाई उनकै श्रीमान्‌ले ६ लाख रुपैयाँको 'सुपारी' रकम दिइ हत्या गरेको घटनाको प्रमुख अपराधी भइ जन्मकैद भोगेका व्यक्ति हुन् उनी। उनी २०६९ सालमा सुविधा पाइ जेलबाट मुक्त भएका थिए।

पक्राउ परेका अर्का अभियुक्त प्रमेश चौहान रामेछापको फुलासी घर भइ हाल जोरपाटी नयाँबस्ती निवासी हुन्। उनी एम्पिज क्याफे रिसोर्टको संचालक पनि हुन्। गुरुङसँगै चौहान पनि गोलढुंगा हत्याकाण्डका दोषी हुन्। चौहानले अदालतमा लीलामायाको हत्याको सबै जिम्मेवारी लिएका थिए। त्यसैको बदलामा गुरुङले चौहानका लागि ३ लाख रुपैयाँमा एम्पीज क्याफे किनिदिएका थिए।


यसरी भएको थियो घटना

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार घटना घट्नु एक साता अघि अभियुक्तहरू रानीबारीस्थित गीता खड्काको घरमा भाडामा कोठा चाहियो भनी गएको र उक्त घरको भुई तलामा बस्ने मृतक अञ्जली श्रेष्ठसँग कुरा गरेका थिए। अभियुक्तहरु भाडाको कुरा गर्न गएको समय गीता खडका बाहिर रहेको देखिएको छ। उनीहरुले 'हामी जति पनि भाडा तिर्छौं, हामी विद्यार्थी हौं। बुबा स्विजरल्याण्डमा र आमा दार्जिलिङमा हुनुहुन्छ भनेका' थिए।

अभियुक्तहरु दोस्रोपटक घटनाको अघिल्लो दिन साँझ उक्त घर एरियामा गई अवलोकन गरी फर्किएका थिए। घटनाको दिन २०५९ असार ३१ गते बिहान अभियुक्तहरुले घटनास्थल नजिकैको पसलमा चिया खाएर गीता खड्काको घर गएका थिए। खड्काको घरमा भाडामा बस्ने मृतक अञ्जलीसँग निजको भुईंतलाको सिटिङ रूममा बसी घर धनीको बारेमा उनीहरुले सोधपुछ गरेका थिए। उनीहरुले बारम्बार फोन गरी घरधनी खड्कालाई तल आउन भनेका थिए।

सूचना चुहिने डरले पहिला भाडावालाको हत्या

कुराकानीको सिलसिलामा घरधनी (गीता खड्का) घरमै भएको यकिन गरेपछि ओछ्यानमै पल्टिरहेका हेमन्त श्रेष्ठलाई अभियुक्त मनराज गुरुङले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। श्रीमानलाई गुरुङले खुकुरी प्रहार गरिरहँदा चौहानले अञ्जलीको कपालमा समातेर नियन्त्रणमा लिएका थिए। श्रीमानको हत्यापछि गुरुङले नै अञ्जलीको पेटमा खुकुरी प्रहार गरेका थिए। 

घटना भएका बखत साथमै रहेकी ७ वर्षीया छोरीको घाँटीमा अभियुक्तले खुकुरी प्रहार गरेका थिए। बालिका भागेर बाथरुम भित्र छिरेर लुकेपछि उनी बाँच्न सफल भएकी थिइन्।

त्यो घरको बनौट अनुसार माथिल्लो तलामा जान श्रेष्ठ दम्पतीको फ्ल्याट भएरै जानुपर्ने भएकोले पहिला उनीहरुको हत्या गरेर मात्र खड्काको हत्या गर्न प्रयास गरेको देखिन्छ। दम्पतीको हत्यापछि अभियुक्तहरुले मुख्य 'टार्गेट' गीता खड्काको हत्या गर्न माथिल्लो तल्लामा गएका थिए। तर गीता खड्का बाथरुम भित्र लुकेर बसेका कारण उनीहरु हत्या नगरी भागेका थिए।

उनीहरुले बाथरुम भित्रै छिरेर हत्या गर्ने प्रयास गरेको तर हल्ला फैलिन सुरु भएपछि उनीहरु भागेको ब्युरोले जनाएको छ। गीता खड्काको हत्या गर्ने प्रयास असफल भएपछि अभियुक्तहरुले घटनास्थलबाट लगभग सय मिटर पर खुकुरी फालेका थिए। त्यसपछि उनीहरु सामाखुसी चोकको धारामा हात धोएर कपडा फेरेर ट्याक्सी चढी फरार भएका थिए।

प्रहरी अनुसन्धान अनुसार खड्काको हत्या गर्न मुख्य योजनाकारले उनीहरुलाई दुई लाख रुपैयाँको 'सुपारी' दिएका थिए।  

प्रहरीले उनीहरुको पोलिग्राफ टेस्ट (झुटो बोले/नबोलेको परीक्षण) पनि गरेपछि हत्या गरेको यकिन गरेको थियो। घट्नाको अनुसन्धानका क्रममा घट्नास्थलको गहन विश्लेषण, सबुद प्रमाणको विश्लेषण, घटना तथा व्यक्तिको बारेमा जानकारहरूसँग बयान, हुलिया तथा पहिचान गरेको थियो। 

घटना भएको समयमा अभियुक्तहरुको उमेर जम्मा १८ र २० वर्ष मात्र थियो। ब्यूरोले अनुसन्धानका क्रममा पहिलेका अनुसन्धानबाट सार्वजनिक गरेका स्केचहरुलाई रि-स्केचिङ समेत गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले कन्ट्र्याक्ट किलरहरु, घटनामा संलग्न व्यक्तिहरुसँग बयान लिने तथा अभियुक्तहरुले हतियार प्रहार गर्ने तरिकाका बारेमा पनि अनुसन्धान गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell