PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

निर्वाचन आयोगको छलफलमा गएनन् सत्तारुढ दल, साना दलको गुनासो बेग्लै



पहिलोपोस्ट

निर्वाचन आयोगको छलफलमा गएनन् सत्तारुढ दल, साना दलको गुनासो बेग्लै

काठमाडौं : निर्वाचन आयोगलाई राजनीतिक दलहरुले कम्तिमा पनि स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्न सुझाव दिएका छन्। निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली संकलन अभियानमा सहयोग पुर्याकउन संसद्मा् रहेका दलहरुसँग गरेको छलफलमा दलका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन्।
 
'मध्ये वर्षामा जिल्ला सदरमुकाममा मात्र नामावली संकलन गर्दा अझ धेरै मतदाता नामावलीबाट छुट्न जान्छन्,' आयोगको बैठकमा उपस्थित अधिकांश प्रतिनिधिहरुको सामूहिक सुझाव थियो, 'त्यसकारण सके वडा तहमै पुगेर नामावली संकलन गर्नुस् नत्र स्थानीय तहसम्म भए पनि पुग्नैपर्छ।' 

उनीहरुले मतदाता नामावलीका लागि आयोगले तोकेको १५ दिनको समय पनि एकदमै कम भएको बताए। 

'कृषि पेशामा रहेका अधिकांश किसानहरु आयोगले तोकेको अवधिमा खेतको काममा व्यस्त हुन्छन्,' संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले भने, 'आयोगले तोकेको १५ दिनमा मतदाता नामावलीमा नाम लेखाउन उनीहरु जान भ्याउँदैनन्। त्यसैले यसलाई बढाएर एक महिना बनाउँदा उपयुक्त हुन्छ।' उनले समय अवधि नबढाए आयोगले गर्न खोजेको लक्ष्य नै प्राप्त नहुने बताए।

सत्तारुढ नै अनुपस्थित

आयोगले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई डाके पनि सत्तारुद्ध दलहरु भने अनुपस्थित रहे। छलफलमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमका प्रतिनिधि उपस्थित भएनन्।
 
आयोगले यसअघि नै आगामी साउन १ गतेदेखि १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ। 

थ्रेसहोल्डको विरोध

छलफलमा केही साना दलका प्रतिनिधिले राष्ट्रिय दलको मान्यता पाउन राखिएको मतसीमा (थ्रेसहोल्ड)मा लचकता नदेखाए बहुदल समाप्त हुने बताए। 

'राष्ट्रिय दलको मान्याता पाउनका लागि राखिएको थ्रेस होल्ड नहटाउने हो भने बहुदल होइन, दुई दलीय व्यवस्था कायम हुनेछ,' नेकपा मालेका प्रतिनिधि वीरेन्द्र थपलियाले भने, 'म यस तर्फ आयोगको ध्यानाकर्षण गराउँछु।' 

साना दलका प्रतिनिधि मात्र नभएर नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन र  आचार संहिताको पालना गराउन आयोगबाट कमजोरी भएको गुनासो गरे। 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाता नामावली संकलन अभियानकै रुपमा सञ्चालन हुने भन्दै  आफ्ना कार्यकर्ता परिचालन गरी सहयोग पुर्याउन आग्रह गरे। 

'कोही पनि मतदाता नछुटुन, कोही नदोहोरिउन, अधिक मतदाताको सहभागिता होस् भन्नका लागि मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिन लागिएको हो,' प्रमुख आयुक्त यादवल भने, 'आफूले पनि नाम दर्ता गराउने तथा अरुलाई पनि दर्ता गर्न र गल्ती भए सच्याउन प्रेरित गर्न अभियान नै सञ्चालन गर्नुपर्दछ।' 

उनले मतदाता नामावली संकलनका लागि तोकिएका ठाउँ र समायावधीका विषयमा दलका प्रतिनिधिले उठाएका प्रश्नमा जवाफ भने दिएनन्। 
छलफलमा नेकपा एमालेका राजेन्द्र पाण्डे, संघीय समाजवादी फोरमका डा. शिवजी यादव, नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, नेकपा (माले)का वीरेन्द्र थपलियालगायत उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell