काठमाडौँ : नेपाली कांग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तरघात नगर्न कांग्रेस निकट व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रीत दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक ढिक्का भएर मतदान गर्न आग्रह गरे।
कोइरालाले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै तहमा पार्टीले हार व्यहोरेको भन्दै निर्वाचनमा त्यस्तो अन्तरघात नगर्न आग्रह गरे।
वैदेशिक रोजगारलाई मर्यादित बनाउन आवश्यक रहेको भन्दै कोइरालाले व्यवसायीका माग सम्बोधन गर्न आफ्नातर्फबाट सक्दो पहल गर्ने आश्वासन दिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले वैदेशिक रोजगार व्यवसायमा केही व्यक्तिको मात्रै एकाधिकार हुने अवस्थाको अन्त्यका लागि लोकतान्त्रिक समूहको जित आवश्यक रहेको बताए।
अध्यक्षका उम्मेदवार बिमल ढकालले अघिल्लो कार्यकालमा बाँकी रहेको केही काम पूरा गर्नुपर्ने दायित्व आफूसामु रहेको भन्दै ६ महिनाभित्र त्यो पूरा गर्न नसके आफूले पदबाट राजीनामा दिने घोषणा गरे।
सो समूहबाट अध्यक्षमा ढकाल, प्रथम उपाध्यक्षमा न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाल उम्मेदवार छन्।
अर्कोतर्फ नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चकातर्फबाट रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’ले सङ्घमा उम्मेदवारी दिएको छ। रासस