काठमाडौं: पूर्वप्रधानमन्त्री झलनाथ खनालका पिए रहेका दीपकचन्द्र अमात्यको २०७१ साल भदौं २७ गते एकाएक चिठ्ठा खुल्यो। उनी सुशील कोइरालाको प्रधानमन्त्री कालमा पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा नियुक्त भए।
झलनाथ खनाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीको कृपाले पर्यटनमन्त्री बनेका अमात्यले उनीहरुकै आग्रहमा पर्यटन मन्त्रालयमा विभिन्न नियुक्तिहरु गरे। तर केही नियुक्ति अध्यक्ष ओलीसँग सल्लाह नगरी गरेपछि सुरु भयो मन्त्री पदमा उनको दिनगन्ती।
ओलीसँग लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका विषयमा विवाद भयो। अमात्यले कोषको उपाध्यक्षमा भिक्षु निग्रोधलार्इ नियुक्त गरेका थिए। यो नियुक्तिपछि अमात्यलार्इ राजीनामा दिन दबाब पर्यो।
अमात्यले राजीनामा नदिएको भए तात्कालिन प्रधानमन्त्री कोइरालालार्इ बर्खास्तसम्म गर्न ओलीले आग्रह गरेका थिए। तर अमात्यले पार्टी अध्यक्ष ओलीको दबाब थेग्न सकेनन् र २०७२ साल जेठ १० गते मन्त्रीपदबाट राजीनामा दिए।
अमात्य पर्यटनमन्त्री बन्ने चिठ्ठा ओलीकै कारण सम्भव भएको थियो। भीम आचार्यको ठाउँमा अमात्यलार्इ ल्याइएको थियो। आचार्यलार्इ पर्यटनमन्त्रीबाट हटाउनुको कुनै कारण बाहिर आएन। तर आचार्य हट्नुको पछाडिको मुख्य कारण थियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा कमिसनमा कुरा नमिल्नु। उनको स्थानमा एकाएक अमात्य आए तर उनी आठ महिनामै गलहत्याइए।
अमात्यको राजीनामापछि ओलीकै सिफारिसमा पर्यटनमन्त्री बने कृपासुर शेर्पा। शेर्पा ओलीका विश्वासपात्र मात्रै थिएनन् यति एयरलाइन्सका प्रमुख आङछिरिङ शेर्पाका समेत विश्वासपात्र थिए। आङछिरिङको विश्वासपात्र भएकै कारण उनी पर्यटनमन्त्री बन्न योग्य ठहरिए।
भूकम्पपछि बल्खुको पार्टी कार्यालय ध्वस्त भयो। एमालेले घर खोज्न थाल्यो। आङछिरिङले धुमवाराहीस्थित पासाङ्ल्हामु पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको भवनमा एमालेको मुख्यालय सार्न ओलीलार्इ प्रस्ताव गरे। आङ्छिरिङ पहिलो महिला पर्वतारोही पासाङ ल्हामु शेर्पाका देवर हुन्।
आङछिरिङको प्रस्तावलार्इ ओलीले अस्वीकार गर्न सकेनन् र त्यहीँ एमालेको पार्टी कार्यालय सर्यो। यो घरमा सर्ने विषयमा विवाद भयो तर ओलीको अगाडि कसैको सीप चलेन। एमाले मुख्यालयनै सरेपछि आङछिरिङ थप बलिया भए। आङछिरिङ बलिया भएकै कारण कृपासुरका विरुद्धमा ठूलो मुद्दा आउँदा पनि पद गुमाउनु परेन।
मन्त्री नियुक्त भएका शेर्पाले जेठी श्रीमती पट्टिको छोरा गणेशलार्इ नागरिकतासमेत नदिएको विषयमा विवाद भयो। तात्कालीन पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीले स्थायी समिति बैठकमा एजेण्डासमेत बनाइन तर ओलीले विवाद साम्य बनाउन भूमिका खेले।
पछिल्लो समयमा सरकारको आयु ९ महिने बन्न थाल्यो तर छोटो समयको मन्त्रिपरिषदमा समेत पर्यटनमन्त्री भने दुर्इ पटक फेरिने गरेका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रधानमन्त्रीकालमा पर्यटनमन्त्री भएका जीवनवहादुर शाहीले पर्यटन क्षेत्रमा सुधारको प्रयास थाले।
उनले हवार्इ उड्ययन क्षेत्रमा रहेको सिन्डिकट तोड्ने प्रयास सुरु गरे। श्री एयरलाइन्सलार्इ ‘फिक्स विङ्स’ उडानको अनुमति दिए। पाइलटसमेत रहेका उनले गरेको यो निर्णयपछि मन्त्रीमण्डल पुनर्गठन भयो र उनलार्इ खानेपानी तथा सरसफाइ मन्त्रालयमा पठाइयो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वासपात्र रहेका शाही उनकै सहमतिमा खानेपानी मन्त्रालयमा पठाइएका थिए।
मन्त्रिपरिषदमा बारम्बार पर्यटनमन्त्री भने फेरिइरहन्छन्। यसको खास कारण हो- हवार्इ उड्ययन क्षेत्रमा रहेका केही व्यवसायी आफ्नो एजेन्डा अनुसार पर्यटन तथा हवाइ क्षेत्रमा सिन्डिकेट राख्न चाहन्छन्। त्यही समूहको सबै दलको शीर्ष नेतासँग पहुँच छ, जसले गर्दा उनीहरुको दबाबमा पर्यटनमन्त्री बारम्बार फेरिन्छन्।
विगत पाँच वर्षमा पर्यटन मन्त्रालयमा १२ मन्त्री फेरिएका छन्, त्यसमध्ये एक वर्षमा मात्र पाँच मन्त्री फेरिएका छन्। विसं २०७२ देखि २०७३ को अवधिमा पाँच मन्त्री फेरिएका हुन्। यो अवधिमा आनन्द्रप्रसाद पोखरेल, बलबहादुर महत (राज्य मन्त्री), दिलनाथ गिरी पर्यटनमन्त्री बने।
सबैभन्दा छोटो अवधि मन्त्री हुने जितेन्द्र नारायण देव हुन्। उनी २०७४ वैशाख २५ गते नियुक्त भई जेठ २४ गतेसम्म झन्डै एक महिना मन्त्री बने। बाबुराम भट्टरार्इका पालामा पहिलो मन्त्रीमण्डल २०६८ भदौमा गठन हुँदा लोकेन्द्र विष्ट मगर पहिलो पर्यटनमन्त्री भए। त्यसपछि फेरि मन्त्रीमण्डल पुनर्गठन भयो र दोस्रोमा पोष्टबहादुर बोगटी पर्यटनमन्त्री भए।
यो अवधिमा १० जना मन्त्री फेरिइसकेका छन्। यो अवधिमा लोकेन्द्र विष्ट मगर, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, कृपाशुर शेर्पा, आनन्दप्रसाद पोखरेल, बलबहादुर महत (राज्यमन्त्री), जीवनवहादुर शाही, इन्द्रवहादुर बानियाँ (राज्य), दीलनाथ गिरी र जितेन्द्र देव मन्त्री बने। उनीहरुको कार्यकाल चार महिनादेखि एक बर्षसम्म रह्यो।
कसको हिम्मतमा फेरिन्छन् मन्त्री ?
गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयपछि, धेरै चासो रहने मन्त्रालय पर्यटन हो। तुलनात्मक रुपमा सरकारले छुट्याउने बजेट कम भएपनि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव पार्नेसक्ने मन्त्रालय पर्यटन नै हो।
हवार्इ उड्ययन क्षेत्र अहिले सबैभन्दा ठूलो व्यापार हो। यसमा अहिले आन्तरिक र वाह्य गरेर ठूलो कारोबार छ। आन्तरिकतर्फ बुद्ध एयर र यति एयरको मूख्य बजार हिस्सा छ। यो दुबै समूह वाहेक सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम, अग्नि, सौर्य, सीतालगायतको पनि हवाई क्षेत्रमा हिस्सा छ। तर मूख्य बजार हिस्सा भने बुद्ध र यतिले ओगटेका छन्।
आन्तरिक बजारमा गर्न सक्ने धेरै ठाउँ देखेर नयाँ कम्पनी आउन चाहेका छन्। तर हवार्इ क्षेत्रमा सिन्डिकेट गरेर नयाँ आउन नदिन पर्यटनमन्त्री फेर्ने हिम्मत त्यही समूहले गरिरहेको छ। त्यो समूहको सबै शीर्ष नेतासँग सहज पहुँच छ।
ओलीलार्इ प्रभाव पारेजस्तै उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा माओवादी केन्द्रका प्रचण्ड र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गछदारको बेडसम्म पुगेर आफ्नो काम गराउन सक्छन्।
तीनै हवाइ माफियाका कारण नयाँ विमान कम्पनी आउन पाएका छैनन्। श्री एयरलाइन्सले तीन महिनादेखि उडान अनुमति नपाउनुमा त्यही समूह हाबी भएको छ।
यसवाहेक ठूला विमानस्थल निर्माण अघि बढिरहेको छ। विमानस्थल निर्माणमा हुने ठेक्कापट्टा र कमिशनले पनि पर्यटनमन्त्री फेरिने गरेका छन्। भैरहवामा निर्माण भइरहेको क्षेत्रीय विमानस्थलको सव कन्ट्रयाक्टरमा पूर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिकको कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपाल कम्पनीले ठेक्का पाएको थियो।
ठेक्का विवादपछि यो कम्पनी वाहिरिइसकेको छ। नेपाल वायु सेवा निगमले ठूला जहाज किन्ने विषयमा पनि राजनीतिक दलको स्वार्थ छ। स्रोतका अनुसार पोखरा विमानस्थलदेखि निजगढ विमानस्थलसम्मको कमिशन पर्यटनमन्त्री नियुक्ती र हटाउने विषय जोडिएको छ।