काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साउन १ गतेदेखि सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्याउन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ।
फोटोसहितको मतदाता नामावली दर्ता सफ्टवेयर सञ्चालन गर्ने कम्प्युटर अपरेटरका लागि सञ्चालित दुईदिने तालिमको आज शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले जनप्रतिनिधिलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियानमा सहयोग पुर्याउन आग्रह गरेका हुन्।
प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने घोषणा गरिसकेको छ।
नामावली संकलन गर्ने समय थोरै भए पनि आयोगले अनिश्चितताको बीचमा निश्चित काम गरेर देखाउने अठोट व्यक्त गर्दै यादवले नामावली संकलनमा आयोगले अभियन्ताको भूमिका निर्वाह गर्ने बताए।
मतदाता नामावलीमा नाम दर्ता गरी मतदान गर्ने नागरिकको कर्तव्य भएको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले पूर्वाधारलगायत कतिपय कठिनाइका कारण आयोग ७४४ स्थानीय तहमा पुगेर भने नाम दर्ता गर्न सक्ने अवस्था नरहेको जानकारी दिए।
नामावली संकलन शुद्धतामा कुनै पनि प्रश्न नआउने ढंगबाट कार्यसम्पादन गर्न तालिममा सहभागी प्रशिक्षार्थीलाई निर्देशन दिए।
आयोगले साउन १५ गतेसम्म संकलन गरेको नामावलीमा दाबी विरोधका लागि साउन १६ देखि २० गतेसम्मको समयावधि तोकेको छ।
निर्वाचन आयोगले प्रदेशसभाको असोजको मसान्त तथा प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्ने गरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ।
तालिममा कालीकोट, बर्दिया, कञ्चनपुर, रोल्पा, काठमाडौँ, ललितपुर, सिन्धुलीलगायतका जिल्लाका कम्प्युटर अपरेटरको सहभागिता रहेको छ। रासस