PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चुडामणि शर्माविरुद्ध अहिलेसम्मकै ठूलो ११ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा



सविन ढकाल

चुडामणि शर्माविरुद्ध अहिलेसम्मकै ठूलो ११ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई करिब १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ।

शर्मालाई लिएर आजै मुद्दा लिएर अख्तियारको टोली विशेष अदालत पुगेको भए पनि समय अभावका कारण दर्ता हुन नपाएको रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। 

उनलाई अपराह्न सवा ४ बजे अख्तियारको टोलीले विशेष अदालत उपस्थित गराएको थियो। तर मिसिल रुजु गर्नका लागि समय लागेको कारण मुद्दा दर्ता हुन सकेन। उनलाई भोलि १० बजे उपस्थित गराउन भनिएको छ। भोलि नै बन्दी प्रत्यक्षीकरण रिटका लागि शर्मालाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको थियो।   

चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो। कर फर्छ्यौट आयोग २०७१ मार्फत् भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। उनी फर्छ्यौट आयोगका सदस्य थिए। आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो। त्यसमा अर्को संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले छानविन थालेको थियो। 
 
अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु फरार भएका थिए। 

अख्तियारको अनुसन्धान जारी रहँदा शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। 
 
चुडामणिलाई सर्वोच्च पुर्‍याउनु एक दिन अगावै अख्तियारले विशेषमा मुद्दा दायर गर्न खोजे पनि रुजु गर्ने समय नपुगेका कारण सफल भएन। अब शुक्रबार बिहानै मुद्दा दर्ता हुनेछ। फर्छ्यौट आयोगले सर्वसाधारणबाट उठाएको भ्याट समेत व्यवसायीलाई फिर्ता दिएको भन्दै महालेखा परिक्षकको कार्यालयले आफ्नो चौवन्नौँ प्रतिवेदनमा गम्भिर चासो व्यक्त गरेको थियो। प्रतिवेदनमा आयोग पदाधिकारीलाई नै जिम्मेवार बनाउनु पर्ने समेत उल्लेख गरिएको छ।
 
शर्माले आयोगको प्रतिवदेन ‘गोप्य’ राख्न हर सम्भव प्रयास गरेका थिए। उनले महालेखा र अख्तियार दुबै संवैधानिक निकायलाई प्रतिवेदन दिन मानेका थिएनन्। महालेखाले मन्त्रीस्तरिय निर्णय पछि गत फागुनमा उक्त प्रतिवेदन हात पारेको थियो। अख्तियारले बिभिन्न कर कार्यालयहरुबाट फर्छ्यौट आयोगले छुट सिफारिस गरेका फायल मगाएर अनुसन्धान थालेको थियो।
 
सबै शक्तिकेन्द्रलाई रिझाउन खप्पिस मानिएका शर्मालाई गत जेठ १९ गते अख्तियारले अप्रत्याशित रुपमा पक्राउ गरेको थियो। उनी सह सचिव भए यता पोष्टिङ भएका हरेक ठाउँमा विवादित निर्णय गर्ने र त्यस लगत्तै अझ ‘लाभयुक्त’ ठाउँमा सरुवा पाउँदै आएका थिए। 
 
सुनसरीको सिडियो हुँदा जोखिम पुर्ण तरिकाले ग्यास सिलिण्डरको फुटरिङ काट्ने सुगम ग्यास सञ्चालक शिब घिमिरेलाई चुडामणिले उन्मुक्ति दिएका थिए। त्यस लगत्तै उनी ललितपुरको सिडियो बने। त्यहाँ उनले अवैध बालुवाखानी सञ्चालकलाई बचाउ गरेको आरोप लागे पनि सरकारले ‘पुरस्कार स्वरुप’ काठमाडौंको सिडियो बनायो।
 
त्यसपछि उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुगे, महानिर्देशकको रुपमा। त्यहाँका एक अधिकृत १० लाख रुपैयाँ घुस सहित पक्राउ पर्दा शर्माको पनि नाम मुछिएको थियो। तर, उनी पुरस्कृैत हुने क्रम रोकिएन। तात्कालिन अर्थमन्त्री रामशरण महतले उनलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाए। अख्तियारका तात्कालिन प्रमुख लोकमान सिंह कार्की समेतको ‘प्रिय’ बनेर उनी आन्तरिक राजश्व विभाग छिरेका थिए।
 
चुडामणि त्यहाँ गएपछि महतले नै फर्छ्यौट आयोग गठन गरे। आयोगले आन्तरिक राजश्व विभाग अन्तर्गतकै बिभिन्न निकायले निर्धारण गरेको करमा शंकास्पद तवरले दुई तिहाइ हाराहारी रकम व्यवसायीलाई छुट दियो। अहिलेसम्मकै सर्वाधिक विवादित निर्णय गरेसँगै चुडामणि करियरको उच्चतम ‘पुरस्कार’ लिने तयारीमा थिए। केही महिनामै सचिवमा बढुवा हुने तरखरमा रहेका शर्माको ‘ब्रेक रहित’ यात्रा अख्तियारको कारबाहीसँगै करिब टुङ्गिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell