PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता हुसैन किन आए पैदलै विराटनगरमा?



अनन्तराज न्यौपाने

भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता हुसैन किन आए पैदलै विराटनगरमा?

विराटनगर : भारतमा सत्तारूढ भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता शैयद सहनबाज हुसैन विराटनगर आइपुगेका छन्। भारतको सीमावर्ती शहर जोगबनी र विराटनगर नाका हुँदै प्रवक्ता हुसैन बिहिबार साँझ ७.०० बजे नेपाल प्रवेश गरेका हुन्।

आफ्ना समर्थक र कार्यकर्ताका माझ उनी पैदलै विराटनगर प्रवेश गरेका थिए।

पहिलोपोस्टसित प्रवक्ता हुसैनले आफ्नो नितान्त व्यक्तिगत भ्रमण भएकाले कुनै विषयमा बोल्न अनिच्छुक रहेको  बताए।

आफू एक मित्रको गृहप्रवेशको निम्तो मान्न सीमावर्ती क्षेत्रमा आइपुगेकाले विराटनगरको भ्रमणमा आएको उनले जानकारी दिए ।

उनले नेपालमा भएको स्थानीय तहको निर्वाचनले आफू प्रसन्न भएको प्रतिक्रिया व्यक्त गर्दै नेपाल शान्ति, स्थिरता र समृद्धिको मार्गमा गतिशील हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको स्पष्ट पारे।

पैदलै सीमानाका पार गरेका हुसैन २ सय मिटरजति हिँडेपछि आफ्नै गाडीको पर्खाइमा उभिएका थिए । पन्ध्र मिनटसम्म उभिँदा पनि उनको गाडी नआएपछि उनी मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको गाडीमा चढे । यसअघि उनले आफ्नै गाडीमा मात्र चढ्ने अडान लिएका थिए।

प्रवक्ता हुसैनको स्वागत र सम्मानमा शुक्रबार विराटनगरमा मोरङ व्यापार सङ्घले कार्यक्रम राखेको छ । कार्यक्रममा विराटनगरका लब्ध प्रतिष्ठितलाई निम्ता गरिएको छ।

हुसैनको स्वागत गर्न सङ्घका वरिष्ठ उपाध्यक्ष मुन्दडाको नेतृत्वमा उपाध्यक्ष सुशील जोशी, प्रवक्ता विकास बेगवानी र पूर्व उपाध्यक्ष देवकीनन्दन अग्रवाललगायतका व्यवसायी सीमानाका पुगेका थिए।

बिहिबार साँझ नै हुसैनलाई गोल्छा अर्गनाइजेसनको सञ्चालनमा रहेको रघुपति जुट मिलमा स्वागत गरिएको छ । नेपाल जुट सङ्घका अध्यक्षसमेत रहेका रघुपति जुटका सञ्चालक राजकुमार गोल्छाको नेतृत्वमा त्यहाँ उपस्थित जुट उद्यमीले नेपालको जुट उद्योगका समस्या र भारत सरकारबाट गरिएको अभिलाषाका बारेमा प्रकाश पारेका थिए ।

हुसैन विराटनगरको हाटखोलास्थित फुड एन्ड फन भिलेज रिसोर्टमा बसेका छन्। यसअघि उनलाई होटल ह्यारिसन प्यालेसमा राख्ने तयारी गरिएको थियो। तर ह्यारिसनमा शाकाहारी खानामात्र पाइने भएपछि फुड एन्ड फनमा राखिएको हो।  होटल र रिसोर्ट दुबैका सञ्चालक विराटनगरका उद्यमी एवम् पूर्व सांसद् मोती दुगड हुन्।

विहारको भागलपुरबाट भारतको लोकसभामा निर्वाचित हुसैन भारतीय जनता पार्टीभित्र हिन्दु र मुस्लिमका सेतुका रूपमा चिनिन्छन् । नौ वर्षको लामो प्रेमपछि उनले एक हिन्दु युवती  रेणु शर्मासित सन् १९९४ मा विवाह गरेका हुन् । शर्मा भारतकी प्रख्यात र स्थापित कवि हुन् । हुसैन भारतका एक प्रखर वक्ताका रूपमा पनि चिनिन्छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell