
सेन्याङ : लामो समयदेखि जेल जीवन विताइरहेका भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ।
कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अघि मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो।
उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेवसाइटमार्फत् सार्वजनिक गरेको छ। उनलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो।
स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो। लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनका परिवारजनले अस्वीकार गरेका थिए।
चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चालेका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो।
त्यसपछि सन् २००९ मा उनलाई ११ बर्षे जेल सजायको घोषणा गरिएपछि उनले अहिलेसम्म पनि काराबासको सजाय भोगी रहेका थिए।
उनले सन् २०१०मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए।
सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।
गत हप्ता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशमा सुविधा सम्पन्न अस्पतालमा जान उनी अझै पनि सक्षम रहेका बताएका थिए।
त्यसलगत्तै उनी उपचाररत अस्पतालले उनको अवस्था दिन प्रतिदिन कमजोर भइरहेको प्रतिवेदन प्रकाशन गर्दै आइरहेको थियो। उनलाई भेट्न पनि सीमित व्यक्तिहरुलाई मात्र दिइएको थियो। रासस/एएफपी