PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

हातमा संविधान बोकेका चुडामणि शर्मालाई विशेष अदालत पुर्‍याइयो, आज मुद्दा दर्ता हुने



सविन ढकाल

हातमा संविधान बोकेका चुडामणि शर्मालाई विशेष अदालत पुर्‍याइयो, आज मुद्दा दर्ता हुने

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई शुक्रबार बिहान विशेष अदालत पुर्‍याएको छ। 

हातमा 'नेपालको संविधान' र एउटा कपि बोकेका शर्मा सेतो सर्ट र कोटमा थिए। 

आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललसहित शर्माविरुद्ध करिब १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दैछ।

शर्मालाई लिएर हिजै अख्तियारको टोली विशेष अदालत पुगेको भए पनि समय अभावका कारण दर्ता हुन पाएको थिएन। 

उनलाई अपराह्न सवा ४ बजे अख्तियारको टोलीले विशेष अदालत उपस्थित गराएको थियो। तर मिसिल रुजु गर्नका लागि समय लागेको कारण मुद्दा दर्ता हुन सकेन। उनलाई शुक्रबार १० बजे उपस्थित गराउन भनिएको छ। 

फर्छ्यौट आयोग पदाधिकारी बिरुद्ध मुद्दा दायर गर्न अख्तियारले ३०० पृष्ठको फायल तयार गरेको छ। त्यसमध्ये मिसिल मात्र ८० पृष्ठको छ। अख्तियारले फर्छ्यौट आयोगबाट छुट दिएको २० अर्ब ९८ करोड रुपैयाँमध्ये १० अर्ब दुई करोड रुपैयाँ मात्र सदर गरेको हो। बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ छ।

चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो। कर फर्छ्यौट आयोग २०७१ मार्फत् भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। उनी फर्छ्यौट आयोगका सदस्य थिए। आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो। त्यसमा अर्को संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले छानविन थालेको थियो। 
 
अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु फरार भएका थिए। 

अख्तियारको अनुसन्धान जारी रहँदा शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell