PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मुलुकको नयाँ संरचना अनुसार ‘भाषा प्रोफाइल’ निर्माण गरिने



रासस

काठमाडौँ : भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ। 

देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि प्रोफाइल निर्माण गर्न लागिएको छ।

प्रारम्भिक अध्ययन तथा अनुसन्धानका साथै छलफल भएको भए पनि सो कार्य आर्थिक वर्ष २०७४/७५ भित्र सम्पन्न गर्ने योजना छ। 

प्रत्येक तहमा स्थानीयवासीको मातृभाषा के छ ? उनीहरुले बोल्ने दोस्रो भाषा कुन हो ? त्यसका आधारमा अध्ययन गरी सरकारलाई आयोगले सिफारिस गर्ने आयोगका अध्यक्ष लवदेव अवस्थीले जानकारी दिए।

आयोगले भाषामा प्रविधिको प्रयोग गरी सङ्कटमा परेका भाषाको संरक्षण गर्ने भाषा समूहको स्थानीय र राष्ट्रिय सञ्जाल निर्माण गर्ने, अन्तर–भाषा अनुवाद प्रविधि विकास गर्ने लक्ष्य राखेको छ। 

आयोगका सचिव रामशरण सापकोटाले भाषा अभिलेखालय र सङ्ग्रहालय विकास गरी भाषाको लिपि, शब्द भण्डार र ब्याकरण निर्माण गर्न आयोगले सरकारी निकाय, विश्वविद्यालय, प्रतिष्ठान, भाषाका वक्ता समुदाय र विज्ञहरुसित छलफल गरिरहेको बताए। 

देशका १, ३, ४, ५, ६ र ७ गरी छवटा प्रदेशमा स्थानीय तहदेखि नै छलफल सम्पन्न गरेको आयोगले जनाएको छ।

केही हप्ताभित्र प्रदेश नं २ मा पनि यस किसिमको छलफल गरिनेछ। भाषागत तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गर्ने कार्य सो आयोगको उच्च प्राथमिकतामा रहेको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell