PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

चीनले भन्यो–लिउका विषय टिकाटिप्पणी गर्नु आवश्यक छैन, हाम्रो आन्तरिक मामिला हो



रासस

चीनले भन्यो–लिउका विषय टिकाटिप्पणी गर्नु आवश्यक छैन, हाम्रो आन्तरिक मामिला हो

बेइजिङ : चीनले अधिकारवादी लिउ जियाओबोको विषय आफ्नो आन्तरिक मामिला भएको बताएको छ। 

लामो समयदेखि जेल जीवन बिताइरहेका नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार ६१ वर्षको उमेरमा निधन भएपछि विश्व समुदायमा विभिन्न टिकाटिप्पणी आएकोमा चीनले त्यसलाई आफ्नो आन्तरिक मामिला भएको बताएको हो।

उसले यो आफ्नो आन्तरिक मामिला भएकाले कुनै पनि टिप्पणी नगर्न सबैलाई आग्रह गरेको छक। विश्वका कतिपय देशले लिउको उपचार चीनले राम्रोसँग नगरेको र उपचारका लागि विदेश जान पनि नदिएको बताएका छन्। 

कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अगाडि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दबाबपछि जेलमुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो। तर उनको उपचारमा त्यति ध्यान नदिइएको विश्व समुदायको भनाई आएको छ। 

उत्तरपूर्वी चिनियाँ प्रान्त सेन्याङमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । 


चीनले उनको उपचारमा कुनै कसर बाँकी नराखी राम्रोसँग गरिएको बताएको छ। यस विषयमा विदेशीहरुबाट आएका प्रतिक्रियाहरु कुनै पनि साँचो नभएको चीनले जनाएको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङले भने,‘चीन कानुनी शासन भएको देश हो र लिउ जियाओबोका विषयमा गरिएका सबै खाले टिकाटिप्पणीहरु हाम्रा आफ्ना आन्तरिक मामिलाका कुरा हुन्।’ 

चीनको शासन व्यवस्थाको पुनःसंरचना गरी आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने माग सहितको अभियान उनले चालेका थिए।
त्यसपछि उनी चीन सरकारको तारो बनेका हुन्। 

उनलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो। त्यसपछि सन् २००९ मा ११ वर्षे जेल सजाय सुनाइयो। उनी त्यसयतादेखि नै काराबासको सजायमा थिए। 

चीन सरकारको जेलमै भएका बेला सन् २०१० मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। त्यसपछि भने उनीमाथि सरकारको थप निगरानी सुरु भएको थियो। त्यस पुरस्कार प्राप्त गर्नका लागि मात्र भएपनि उनलाई जेलमुक्त गर्न भनिए पनि सरकारले दिएको थिएन। 

विदेश मन्त्रालयका प्रवक्ता सुआङले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकोले उनी एकजना व्यक्तिलाई अघि सारेर कुनै पनि विरोधी प्रतिक्रिया नदिन पनि विश्व समुदायलाई आग्रह गरेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell