PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कांग्रेसमा कसरी भित्रियो विकृति ?  स्वर्गीय रामहरि जोशीको विश्लेषण



रमेश वाग्ले

कांग्रेसमा कसरी भित्रियो विकृति ?  स्वर्गीय रामहरि जोशीको विश्लेषण

काठमाडौं : २००७ साल अघि राजनीतिमा संलग्न भएको कांग्रेसको नेतृत्व पुस्ता समाप्त भएको छ। २००४ सालदेखि कांग्रेसमा आवद्ध भई काम गरेका कांग्रेस नेता रामहरि जोशीको बिहीबार निधन भएसँगै कांग्रेसीको त्यस बेलाको नेतृत्व पुस्तामा पूर्णविराम लगेको हो। 

प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको मुद्दामा स्थापित भएको कांग्रेसको आजको पहिचान त्यस्तो छैन। विपक्षी मात्र हैन सर्वसाधारणले समेत कांग्रेसलाई पुँजीवादी पार्टी भनेर चिन्छन्। विपक्षीले सामन्तीहरुको पार्टी भनेर चिन्ने कांग्रेसलाई कार्यकर्ताले चाहिँ के भनेर चिन्छन् त? 

दुई वर्षअघि हामीसँगको भेटमा स्वर्गीय रामहरि जोशीले भनेका थिए – 'कांग्रेस त सामन्तीहरुको पार्टी हैन। यसले नै सामन्ती युगको अन्त्य गरेको हो। तर कांग्रेसका नेता चाहीँ नव सामन्त भएकै हुन्।' 

जोशीले कांग्रेस कर्तव्यविमुख हुँदा गैर जिम्मेवारहरुले ठाउँ पाएको, जनताका नजरमा कांग्रेस गिर्दा जनताका नाममा अर्कै राजनीति गर्नेले प्रश्रय पाएको तथा कांग्रेसभित्र नै सिद्धान्त र आदर्शको क्षयीकरण हुँदै सैद्धान्तिक राजनीतिमा पूर्णविराम लाग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए। 

कसरी भित्रियो त कांग्रेसमा विकृति?  

स्वर्गीय जोशीका अनुसार कांग्रेसका नेताहरुमा सुख सुविधामा हराउने स्वभाव विकास भयो। उनीहरु गाउँ-गाउँसम्म पुग्न छोडे। गाउँमा राजनीति गर्ने वास्तविक कार्यकर्ता चिन्न छोडे।

'सबैभन्दा खराब त के भयो भने – नेताको संङ्गतले कार्यकर्ताको जीवनशैली डरलाग्दो रुपमा महङ्गियो,' कांग्रेसको १३औं महाधिवेशनको पूर्वसन्ध्यामा जोशीले पहिलोपोस्टसँग भनेका थिए, 'गाउँमा बसे कार्यकर्तालाई नेताले चिन्दैन। सहरमा आयो नेताकै लगानीमा हरेक साँझ महंगा रेष्टुरेन्ट गएर रक्सी र रामरौस गर्छ।' उनले त्यसले एकातिर राजनीतिक संस्कृतिका लागि आवश्यक पर्ने सादगी जीवन नै समाप्त पार्दै गरेको र अर्कातिर त्यस्तो जीवनशैली सिकेकका कार्यकर्ताको भोलिको जीवन कसरी बित्छ र विकृतिले प्रश्रय पायो भने देशको राजनीतिको भविस्य के हुन्छ भन्दै चिन्ता व्यक्त गरेका थिए।

'हाम्रो पार्टीमा भित्रिएको यो विकृति हटाउन एउटा कडा खालको इमान्दार नेता नभइ हुँदैन,' जोशीले आफ्नो पुस्तक 'अँध्यारोबाट उज्यालोतिर' मा लेखेका छन्, 'अहिले नेताहरुमा दृढता नै भएन। कोही कसैलाई चिढ्याउन चाहँदैनन्। जे चलिरहेको छ त्यही ठिक छ भन्ने मानसिकता छ।'
उनले आफ्नो पुस्तकमा २०५६/६७ साल तिरको प्रसंग ल्याएर पार्टीमा भित्रिएको विकृतिका विषयलाई उजागर गरेका छन्। 

'एक दिन शेरबहादुर देउवाजी घुम्दै फिर्दै सर्लाहीमा मलाई भेट्न ठूलो डफ्फा लिएर आएका थिए। त्यसबेला उनी र म दुबैले गिरिजाप्रसाद कोइरालाविरुद्ध पोखरा महाधिवेशनमा सभापति पदमा उठ्ने निर्णय गरेका थियौँ।' 

देउवासँगको महाधिवेशन सम्वाद उल्लेख गर्दै जोशीले लेखेका छन्,  'मैले उनीहरुलाई भनेँ, अब तपाईहरुको खाना मै कहाँ हुन्छ। तर म रक्सी चाहीँ दिन्नँ। मैले किशुनजीलाई पनि रक्सी दिइनँ।'

त्यो कुरा आफ्नो अगाडि स्वीकार गरे पनि देउवाको टिमले व्यवहारिक रुपमा स्वीकार नगरेको कुरा उनले उल्लेख गरेका छन्। 

'मैले त रक्सी दिइनँ। तर, त्यहाँ अलग्गै रक्सी अर्डर गरिसकेका रहेछन्। मेरोमा दालभात, तर्कारी र माछा खाए। तर, रातिको रमझमको व्यवस्था मकहाँ हुँदैन भनेँ। त्यो कुरा एउटा अवसरवादीले सुनिरहेको रहेछ। उसले भन्यो, उहाँहरुलाई म कहाँ लगुँ? मैले भनेँ, ‘लगे हुन्छ।‘ सायद उसको कुनै स्वार्थ पूरा गर्नुथियो होला। उनीहरु त्यतै गए।'

उनले पार्टीमा भित्रिएको विकृति उजागर गर्दै पार्टीका नेताको कार्यशैलीले कार्यकर्ताले पनि त्यही सिकेको बताएका थिए। 

'यस्तो त कार्यशैली छ त्यही कुरा कार्यकर्ताले सिके। नेताहरुको पछि लागेर यसरी माथिबाटै पार्टीमा विकृति आयो,' जोशीले भनेका थिए, 'त्यसैले अहिले कठिन भइरहेको छ सम्हाल्न। अब कांग्रेसले नयाँ शिराबाट सोच्नै पर्छ। मूल्यांकन गरेर राम्रो मानिसलाई अघि बढाउने र खरावालाई निरुत्साहित गर्ने काम थाल्नुपर्छ। कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्छ। यो काम सहज छैन।'

उनले कार्यकर्ता प्रशिक्षण अब आचरणबाट हुनुपर्ने भन्दै त्यसो नगरे पार्टीको मात्र नभएर देशकै राजनीति धरापमा पर्ने चेतावनी दिएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell