PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा 'हेर्दाहेर्दै'

चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा 'हेर्दाहेर्दै'

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा आज हेर्दाहेर्दैमा टुङ्गिएको छ। 

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

त्यसै अनुसार आज सर्वोच्च अदालतमा उनलाई पेश गरिएकोमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको हो। अब यो रिटमा आइतबार सुनुवाई जारी रहनेछ। 

उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न शर्मालाई शुक्रबार बिहान विशेष अदालत पुर्‍याएको थियो।  

फर्छ्यौट आयोग पदाधिकारी बिरुद्ध मुद्दा दायर गर्न अख्तियारले ३०० पृष्ठको फायल तयार गरेको छ। त्यसमध्ये मिसिल मात्र ८० पृष्ठको छ। अख्तियारले फर्छ्यौट आयोगबाट छुट दिएको २० अर्ब ९८ करोड रुपैयाँमध्ये १० अर्ब दुई करोड रुपैयाँ मात्र सदर गरेको हो। बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ छ।

चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो। कर फर्छ्यौट आयोग २०७१ मार्फत् भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। उनी फर्छ्यौट आयोगका सदस्य थिए। आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो। त्यसमा अर्को संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले छानविन थालेको थियो। 
 
अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु फरार भएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell