PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सतहमा राप्रपाको रडाको : के कमल थापाका दुर्दिन सुरु भएको हो?



सूर्य खड्का

सतहमा राप्रपाको रडाको : के कमल थापाका दुर्दिन सुरु भएको हो?

काठमाडौं : गत फागुनमा बडो तामझामका साथ राजधानीमा एकता महाधिवेशन गरेर एकीकृत बनेको राप्रपा एकताको ठीक ५ महिनामा पुनः फुटको डिलमा आइपुगेको छ। 

पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेलगत्तै कडा आपत्ती जनाउँदै बरिष्ठ नेता पशुपति शम्शेर राणाले पार्टी फुटको संकेत गरेका हुन्। अध्यक्ष कमल थापाले पार्टीलाई अध्यक्षको बिर्ता बनाएर एकाँकी निर्णय गरेकाले पार्टीमा अनिष्ट र बिग्रहको स्थिति पैदा भएको राणाको आरोप छ। राणाले शुक्रबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष थापाले गरेका ४२ केन्द्रीय सदस्यको मनोनयन खारेज गर्न माग गरिएको छ। तर, अध्यक्ष थापाले उल्टै मनोनित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा बुझाएर आफ्नो निर्णय फिर्ता नहुने जवाफी कदम चालेका छन्।

बरिष्ठ नेता राणाले अध्यक्ष थापा माथि लगाएका आरोपहरुः

  • केन्द्रीय सदस्य मनोनयन गर्दा अध्यक्ष कमल थापाले पार्टीलाई अध्यक्षको एकल बिर्ताका रुपमा रुपान्तरण गरेको।
  • केन्द्रीय समिति र कार्य सम्पादन समितिको अस्तित्व र उपस्थितिलाई अध्यक्ष थापाले पूर्ण रुपमा नकारेको।
  • अध्यक्षले मनोनयनबारे केन्द्रीय नेतागणलाई सुइकोसम्म नदिई अप्रत्याशित केन्द्रीय समिति बिस्तार गरेको।
  • अध्यक्षले मनोगत एकल निर्णय गरेको।
  • अध्यक्ष एक्लैको एकाँकी निर्णयले मधेश, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक प्रतिनिधित्व नगरेको।
  • केन्द्रीय समितिको बिस्तार वा अन्य महत्वपूर्ण निर्णयमा केन्द्रीय तहका सबै नेता गणको परामर्श र सहमति नलिइएको।
  • मनोनयनमा सबै पक्षको सन्तुलित नगराइएको तथा सबैको भावना र चाहनाको प्रतिनिधित्व नगरिएको।
  • एकाँकी मनोनयनका कारण पार्टीमा अनिष्ट र बिग्रहको स्थिति पैदा गरेको।
  • पार्टीमा उत्पन्न अनिष्ट र बिग्रहको स्थितिबाट आफू चिन्तित रहेको।
  • साउन ४ मा बस्न लागेको केन्द्रीय समिति बैठकको उपेक्षा गरिएको।

अध्यक्ष थापा र वरिष्ठ नेता राणाका रस्साकस्सी

  • असार २९ गते ४२ जना केन्द्रीय सदस्य अध्यक्ष कमल थापाद्वारा मनोनित।
  • असार ३० गते वरिष्ठ नेता पशुपति शम्शेर राणाद्वारा अध्यक्ष थापाले मनोमानानी र एकाँकी ढंगमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै चर्को विरोध। राणाद्वारा सो मनोनयन आफूलाई मान्य नभएको भन्दै फिर्ता लिन माग।
  • अध्यक्ष थापाद्वारा असार ३० मा नै ४२ मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा पेश।
  • पार्टीद्वारा असार ३० मा काठमाण्डौंमा आयोजित पार्टीको उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापा समूहमात्रै सहभागी। बरिष्ठ नेता राणा पक्षद्वारा उपत्यका भेला बहिष्कार।
  • पार्टी अध्यक्ष थापा र बरिष्ठ नेता राणाबीच चुनाव चिन्ह हलो राख्ने कि गाई भन्ने एकताको बेलादेखिको विवाद केन्द्रीय सदस्य मनोनयनमा सतहमा छताछुल्ल।

डा. लोहनीपछि पालो राणाकै हो त?

एकता महाधिवेशनको एक महिना नबित्दै तत्कालिन बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेका थिए। बरिष्ठ नेता डा. लोहनीले पनि अध्यक्ष कमल थापाले पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी बनाएका लगायतका दर्जनौं आरोप लगाएका थिए। पार्टीको चुनाव चिन्ह 'हलो' नराखी गाई राखिएको लगायतका आरोपसहित राप्रपाबाट बाहिरिएका डा. लोहनीलेपछि राप्रपा नेपालबाट त्यसअघि नै निकालिएका केशरबहादुर बिष्टसँग मिलेर राप्रपा राष्ट्रवादी नामक नयाँ दल बनाएका थिए। दल बनाए लगत्तै डा. लोहनी र बिष्टले स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार उठाएर पहिलो र दोस्रो चरणको स्थानीय चुनावको सामना गरेका थिए, तर उल्लेख्य मत ल्याएर विजयी हुन सकेनन्।

एकता लगत्तै वैकल्पिक शक्ति बन्ने उद्‍घोषका साथ स्थानीय चुनावमा गएको राप्रपा भने अनपेक्षित हार खान विवश भयो। देशभर मुश्किलले शून्य जितको खतराबाट जोगिएको राप्रपामा बरिष्ठ नेता पशुपति शम्शेरले राणाले नै पार्टीलाई अध्यक्ष थापाले अध्यक्षको बिर्ता बनाएको संगीन आरोपले यो पार्टी ढिलो चाँडो फुट्ने संकेत गर्दछ। तत्कालीन राप्रपाका अध्यक्ष राणा एकीकृत दलमा अध्यक्ष नै नभए पनि अत्यन्त प्रभावशाली नेता हुन्।

संविधान संशोधनमा असर

राप्रपामा देखिएको यो विवाद उनीहरुको आन्तरिक पार्टी जीवनमा नयाँ क्षति त हुने नै छ, त्यसको सिधा असर संविधान संशोधनको सरकारी प्रयासमा पनि पर्नेछ। राप्रपासँग हाल ३७ सांसद छन्, जो यथास्थितिमा संविधान संशोधन गर्ने र नगर्ने पक्षमा विभक्त छन्।

गत वैशाख १७ गते पार्टी निर्देशन विपरित दर्जन सांसद संविधान संशोधनको पक्षमा भोट हाल्न संसद बैठकमा उपस्थित नभएपछि राप्रपा अध्यक्ष थापामाथिको पार्टी भित्रैको अविश्वास बाहिर आएको थियो। हाल पनि थापा विरोधी सांसदहरु संशोधनका पक्षमा भोट नहाल्ने भन्दै असन्तुष्ट बनिरहँदा चाहेर पनि अध्यक्ष थापा वर्तमान सरकारमा सहभागी हुन पाइरहेका छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधनमा राप्रपाको एकमतको भोट नआएसम्म राप्रपालाई इन्गेज गर्ने तर सरकारमा सामेल गरिनहाल्ने नीति लिएका छन्।

पारिवारिक र राजनीतिक रुपमा पनि पशुपति शम्शेर राणा र प्रधानमन्त्री देउवा निकट सम्बन्धमा रहेका कारण बरिष्ठ नेता राणाले अध्यक्ष थापा भन्दा प्रभावकारी र विश्वासिलो सम्बन्ध वर्तमान सरकार प्रमुख र सत्ता गठबन्धनसँग बनाएका छन्। अध्यक्ष थापा उपप्रधान मन्त्रीमा आफै दोहोरिएर सरकारमा सामेल हुन चाहिरहेका छन्। तर बरिष्ठ नेता राणा मन्त्रीहरु मात्रै सरकारमा पठाउने योजनामा छन्।

हाल केन्द्रीय सदस्य मनोनयनको विवादको स्वरुपमा बाहिर आएको अध्यक्ष थापा र नेता राणको यो विवाद सरकारमा सहभागिताका विषयमा पनि थप बल्झिने स्पष्टै छ। संविधान संशोधनको विपक्षमा रहेका सांसदहरु मात्रै होइन, नेता राणा नै खुल्लमखुल्ला अध्यक्ष विरुद्ध संर्घषमा उत्रिएकाले राप्रपामा कमल थापाका दुर्दिन सुरु भएको संकेतका रुपमा पनि वर्तमान प्रकरणलाई लिन सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell