PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मोदी खान्छन् नेपालकै पानी ‘हिमालयन वाटर’



अनन्तराज न्यौपाने

मोदी खान्छन् नेपालकै पानी ‘हिमालयन वाटर’

विराटनगर : भारतीय जनता पार्टीका प्रवक्ता शैयद शहनबाज हुसेनले नेपाललाई हिन्दु राष्ट्र बनाउने कि धर्मनिरपेक्ष वा अरू नै केही भन्ने विषयमा नेपाली जनताले नै निर्णय गर्नुपर्ने धारणा प्रकट गरेका छन्।

प्रवक्ता हुसेनले धर्मसम्बन्धी मुद्दा नेपालको आन्तरिक विषय भएकाले यसमा आफूले कुनै धारणा नराख्ने विचार व्यक्त गरेका हुन्।  

‘यो हाम्रो विषय होइन, हाम्रो यसमा केही अभिमत छैन’, विराटनगरमा मोरङ व्यापार सङ्घद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘यो नेपालको विशुद्ध आन्तरिक विषय हो। नेपाल एउटा सार्वभौम राष्ट्र हो। यहाँ संसद् छ। यहाँको आन्तरिक विषयमा यहीँ छलफल र निर्णय हुन्छ। आन्तरिक विषयमा हामी केही भन्न चाहँदैनौँ।’

‘तपाईं धेरै व्यापारी र उद्योगपति त भारतबाट यहाँ आएर आफ्नो जीवनलाई नै यहीँ लगानी गर्नुभएको छ, हैन र?’ विराटनगरका व्यवसायीले भारतीय प्रत्यक्ष लगानी नेपाल भित्र्याउन हुसेनले पहल गरिदिनु पर्ने भनी गरेको आग्रहमा उनको उत्तर थियो, ‘सीकर, झुनझुनु, जयपुर लगायतका राजस्थानका धेरै ठाउँबाट यहाँ आएर तपाईंहरूले आफ्नो जीवन नै यहीँ लगानी गर्नुभएको छ। हजुरबा राजस्थानमा जन्मेका छन्, नातिको मृत्यु नेपालमा भएको छ। योभन्दा ठुलो लगानी र सम्बन्ध अर्को के हुनसक्छ?’

नेपाल भारतको १ नम्बरको र सबैभन्दा भरोसाको साथी भएको उनको कथन थियो।

‘जसरी व्यापार सङ्घका अध्यक्ष पवन शारडाले बिहान उठेर श्रीनिवास शारडा मेरो दाजु हुनुहुन्छ भनेर कराउनु पर्दैन’, शैयदको भनाइ थियो, ‘त्यसरी नै नेपाल र भारत दाजुभाइ हुन् र एउटै आमाका छोरा हुन् भनेर कसैलाई बताइरहनु पर्दैन। हाम्रो सम्बन्ध रोटी, बेटीको होइन रगतको सम्बन्ध हो। कसैलाई साथी बनाउन सजिलो छ तर धर्म र संस्कृतिको सम्बन्ध बनाएर बन्ने होइन।’

‘प्रधानमन्त्री मोदी नेपाल आउँदा उहाँले सोमनाथबाट पशुपतिनाथ आएको कुरा गर्नुभयो, किनकि उहाँ गुजरातका हुनुहुन्छ र सोमनाथ गुजरातमा छ’, उनले भने, ‘म वैद्यनाथबाट पशुपतिनाथ आएँ भन्छु किनकि वैद्यनाथ पहिले विहारमै थियो र म पनि विहारकै हुँ। हाम्रो सम्बन्ध अरू कसैले होइन, ईश्वरले जोडिदिएका छन्।’

‘मैले पहिलो विदेश यात्रा नेपाल हो र पहिलो शहर विराटनगर हो। म ९ कक्षाको परीक्षा दिएर बसेका बेला एउटा सरकारी बस चढेर मेरी आमासित यहाँ आएको थिएँ। त्यो बेला म नाबालिग थिएँ अहिले बालिगका रूपमा उपस्थित छु। रामचन्द्र १४ वर्षको वनवासपछि अयोध्या फर्किएथे, मलाई यहाँ दोस्रो पटक आउन ३६ वर्ष लाग्यो। अब तपाईंहरू आफ्ना घरमा विवाह, विवाहको वार्षिकोत्सव, गृहप्रवेश वा पूजाआजा जे गर्नुहुन्छ एउटा निम्ता कार्ड मलाई पनि पठाइदिनुहोला। मलाई यहाँ आइरहन मन लाग्छ, तर एउटा निहुँ त चाहिन्छ नै।’

‘मेरो पहिलो हनिमुन यात्रा पनि नेपालमै भयो। मैले हिन्दु कन्यासित अन्तरधार्मिक बिहा गरेँ। हनिमुनका लागि हामी रक्सौल र वीरगञ्ज हुँदै काठमाडौं गयौँ। नेपालमा हुँदा म आफ्नै घरआँगनमा भएजस्तो लाग्छ।’

‘नेपालको विकासप्रति हाम्रो चासोमात्र होइन कर्तव्य पनि छ। जोगबनीबाट नयाँदिल्लीसम्म भारतीय रेलले राजधानी एक्सप्रेस चलाउनु पर्छ, म यसका लागि पहल गर्छु। विराटनगरबाट नजिकै पूर्णियामा हवाई मैदान बन्दैछ। यसले विराटनगरवासीलाई भारतका विभिन्न ठाउँमा जान सजिलो हुन्छ।’

‘नेपालसितको सम्बन्धका बारेमा जति चर्चा गरे पनि कम हुन्छ। हामीसित यस्तो छिमेकी देश पनि छ, उसलाई आयुर्वेदिक र होमियोप्याथिक ओखती दिएर भएन। एलोप्याथिक उपचार पनि गरियो तर केही नलागेर शल्यक्रिया नै गर्नुपर्‍यो। अहिले पनि कहिलेकाहीँ एन्टिबायोटिक दिनुपर्छ। एउटा गुलेली बनाउन सक्तैन, रकेट बनाउँछु भन्छ। दीपावलीमा चलाइने फूलझडीजस्तो रकेट पनि बनाउन सकेको छैन। हाम्रा प्रधानमन्त्री मोदीजीसित हर सवालका जवाफ छन्।’

‘तपाईंहरू यहाँ विराटनगरमा ठुलाठुला पार्टी प्यालेस, बिहा घर र होटलहरू बनाउनूस्। विहार राज्यमा ‘शराबबन्दी’ छ भन्ने त तपाईंहरूलाई थाहै छ। यसको फाइदा लिन तपाईंहरू सक्नुहुन्छ। विहारका विभिन्न ठाउँका धनाढ्यहरू आफ्ना छोराछोरीको बिहा गराउन वा आफ्नो वैवाहिक वर्षगाँठ मनाउन विराटनगर आउनेछन्।' 

'केही समयअघि विहारमा भएको जिल्ला सभाको निर्वाचनताका पनि धेरैजसो मतदाता यतै आएर बसेका थिए। अहिले पनि हाम्रा विहारका धेरै मित्रहरू साँझको खाना छिटै खान्छन् र नेपालतिर आउँछन्। अनि भोलिपल्ट बिहान ५/६ बजेतिर फर्कन्छन्। शायद यहाँको पानी धेरै कडा छ। यहाँको पानीमा खनिजतत्त्व धेरै छ। हाम्रा प्रधानमन्त्री पनि यहीँको ‘हिमालय वाटर’ खानुहुन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell