PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

आज पनि दर्ता हुन सकेन चुडामणि शर्माविरुद्ध मुद्दा

आज पनि दर्ता हुन सकेन चुडामणि शर्माविरुद्ध मुद्दा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयास शुक्रबार पनि सफल हुन सकेन। 

विशेष अदालतका रजिस्ट्रार जगन्नाथ शर्माले फाइल ठूलो भएकोले समय अभावका कारण मिसिल अध्ययन गर्न नभ्याइएको बताए। उनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च अदालतमा उपस्थित गराएर अदालतबाट दिउँसो २:५५ मा मात्र विशेष अदालतमा उपस्थित गराइएकोले मुद्दा दर्तापछि इजलासबाटै आदेश गराउनु पर्नेमा समय अभावका कारण इजलासमा पेश गर्न नभ्याइएको हो। 

त्यसैले आरोप पत्र दर्ता हुन नसकेकोले उपस्थित गराइएका प्रतिवादीलाई साउन १ गते ठीक १० बजे उपस्थित गराउने गरी आयोगमै फिर्ता पठाउन भनिएको छ।  

यसअघि बिहीबार अपराह्न पनि अख्तियारले शर्मालाई विशेष अदालतमा उपस्थित गराई मुद्दाका ८० भन्दा बढी पेजको मिसिल बुझाएको थियो। 

तर मिसिल अध्ययन गर्न समय लाग्ने भन्दै आज बिहान १० बजे बोलाइएको थियो। सोही अनुसार आज उनलाई बिहान विशेष अदालत उपस्थित गराइएको थियो। तर आज पनि मुद्दा दर्ता हुन सकेन। भोलि शनिबार विदाको दिन भएकोले आइतबार बोलाइएको छ। 

शुक्रकार नै उनलाई गैरकानुनी थुनामा राखेको भन्दै दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा हेर्दाहेर्दैमा टुङ्गिएको छ। 

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

त्यसै अनुसार आज सर्वोच्च अदालतमा उनलाई पेश गरिएकोमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको हो। अब यो रिटमा पनि आइतबार सुनुवाई जारी रहनेछ। 

फर्छ्यौट आयोग पदाधिकारी बिरुद्ध मुद्दा दायर गर्न अख्तियारले ३०० पृष्ठको फायल तयार गरेको छ। त्यसमध्ये मिसिल मात्र ८० पृष्ठको छ। अख्तियारले फर्छ्यौट आयोगबाट छुट दिएको २० अर्ब ९८ करोड रुपैयाँमध्ये १० अर्ब दुई करोड रुपैयाँ मात्र सदर गरेको हो। बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ छ।

चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो। कर फर्छ्यौट आयोग २०७१ मार्फत् भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। उनी फर्छ्यौट आयोगका सदस्य थिए। आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो। त्यसमा अर्को संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले छानविन थालेको थियो। 
 
अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु फरार भएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell