PahiloPost

May 15, 2024 | २ जेठ २०८१

निर्वाचन आयोगलाई सत्तारुढ दलले भने: गाउँमै पुगेर नामावली संकलन गर



रमेश वाग्ले

निर्वाचन आयोगलाई सत्तारुढ दलले भने: गाउँमै पुगेर नामावली संकलन गर

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुने फोटो सहितको मतदाता नामावली सङ्कलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग माग गरेका छन्। निर्वाचन मिति समेत नतोकिएको अवस्थामा निर्वाचन आयोगले १५ दिनको समयका लागि जिल्ला सदरमुकामलाई मात्र संकलन केन्द्र तोकेको विषय सच्याउन भन्दै समयावधि र स्थान समेत बिस्तारका लागि आग्रह गरेका हुन्। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको टोलीले आयोग पदाधिकारीसँग छुट्टा-छुट्टै भेट गरी एउटै प्रकृतिका सुझाव दिएका हुन्। 
बालकृष्ण खाँणको नेतृत्वमा आयोग पुगेको नेपाली कांग्रेसको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर मध्य वर्षायामको नामावली संकलनको समय १५ दिन पर्याप्त नहुने बताए। 

'मध्य वर्षा याममा हुन लागेको मतदाता नामावली संकलनको समयावधि १५ दिन राखेर पुग्दैन,' आयोगका पदाधिकारीसँग नेता खाँणले भने, 'आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन म आयोगसँग विनम्रतापूर्वक आग्रह गर्छु।' 

उनले काठमाडौंबाट नामावलीमा नाम लेखाउनकै लागि दुर्गम जिल्लासम्म नागरिकहरु जान नसक्ने भन्दै त्यसका लागि यही वा बसेको स्थानबाट नै नामावली संकलनको व्यवस्था मिलाउन आग्रह गरे। 

'अघिल्लो पटक बसेकै स्थानबाट नामावली संकलन गर्दा र गाउँमै पुगेर मतदाता नामावली संकलन गर्दासमेत धेरै मतदाता नामावलीबाट बाहिर परे,' कांग्रेस टोलीमा आयोग पुगेका सांसद रामहरि खतिवडाले भने, 'यदि अहिले आयोगले सार्वजनिक गरेको तालिकाकै आधारमा नामावली संकलन गर्ने हो भने यसपटकको नामावली संकलन औपचारिकतामा मात्र सीमित हुन्छ।' 

कांग्रेसको टोलीमा नेताहरु आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामहरि खतिवडालगायत थिए। 

केहीबेरमै आयोग पुगेका माओवादी केन्द्रका हरिबोल गजुरेलले पनि नामावली सङ्कलन ७ सय ४४ स्थानबाटै हुने व्यवस्था मिलाउन आग्रह गरे। उनले नामावली संकलनको समयावधि बढाउन पनि आयोगसँग आग्रह गरे। 

'संघीयतामा गएर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने कुरा कुनै हिसाबले बैज्ञानिक हुँदैन,' नेता गजुरेलले आयोगको टोलीसँग भने, 'त्यसैले ७ सय ४४ स्थानीय तहमा पुगेर आयोगले नामावली संकलन गर्नुपर्छ।' 

उनले मतदाता नामावली संकलनको उद्देश्य कोही पनि नछुटुन भन्ने हुनुपर्ने भन्दै जिल्ला सदरमुकाममा मात्र गरिने नामावली संकलन औपचारिकता मात्र हुन सक्नेतर्फ आयोगलाई सचेत गराएका थिए। 

आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले जनशक्तिको सीमितता, आगामी निर्वाचनको समय सीमा र स्थानीय तहको हालको अवस्थाका कारण जिल्ला सदरमुकामबाटै नामावली सङ्कलन गर्ने कार्यलाई भरपुर प्रयोग गरिदिएर सहयोग गरे उचित हुने बताए। 

आयोगले यस अघि यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरु तथा गाविसम्म पुगेर 'निरन्तर दर्ता', 'घुम्ती दर्ता', 'विशेष दर्ता'लगायतका नाममा मतदाता नामावली संकलन गरेको थियो। त्यससँगै आयोगले बसेकै स्थानबाट जुनसुकै स्थानको मतदाता नामावली दर्ता गर्ने समेत व्यवस्था मिलाएको थियो। त्यसरी दर्ता गर्दा समेत विगतमा घरैमा पुगेर नामावली संकलन गरिने अभ्यासका कारण धेरै मतदाता नामावलीबाट छुटेका थिए। 

त्यसरी संकलन गर्ने कार्य आयोगले स्थानीय तहको मिति घोषणा भएपछि फागुन ९ गतेदेखि स्थगित गरेको थियो। 

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने व्यवस्था मिलाइएको छ।

निर्वाचन आयोगले मतदाता नामावलीमा समय सापेक्ष सुधार गर्दै जाने क्रममा फोटोसहितको मतदाता नामावली तयार गर्दै आएको छ।

पछिल्लो पटक निर्वाचन आयोगले गत फागुन ९ गते अगाडी १८ बर्ष उम्मेर पुरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको थियो। त्यसका आधारमा अहिले एक करोड ४२ लाख ५४८ नागरिकको नाम मतदाता नामावलीमा समावेश छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell