नुवाकोट : नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समितिमार्फत राहत रकम उपलब्ध गराइएको छ। द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारका लागि १२ करोड ३३ लाख ८० हजार बैँकमार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायतास्वरुपमा रकम उपलब्ध गराइएको हो।
कार्यदलको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वमा सर्वसाधारण मृतक १८७ जना र सुरक्षाकर्मी २१ जना गरी २०८ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी दश लाख पुर्याइएको छ।
यस्तै, बेपत्ता भएका २२ जनाको परिवारको लागि यसअघि पाँच लाख उपलब्ध गराइसकेकाले थप पाँच लाख बेपत्ता व्यक्तिको हकदारलाई प्रदान गरिएको छ।
द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परेको भनी पहिचान भएका १५१ जना र विस्थापित जीवन विताउन बाध्य ४७४ जनाको लागि २५/२५ हजार राहत रकम बैंकमार्फत वितरण गरिएको छ।
कार्यदलको प्रतिवेदन अनुसार द्वन्द्वपीडित वितरण गर्ने १६ करोड ९६ लाख ५९ हजार बजेट प्राप्त भएपनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैँक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने भएकाले सबै पीडित समेट्न नसकेको प्रजिअ बरालले बताए।
द्वन्द्वपीडितको पहिचान नहुँदा वितरणका लागि आएको चार करोड ६२ लाख ७९ हजार बजेट फिर्ता भएको छ। रासस