PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

रामेछापको खिम्तीमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु, तीन बेपत्ता



रासस

रामेछापको खिम्तीमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

चरिकोट : गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको जानकारी दिए। 

त्यसैगरी अन्य छ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ। 

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन्।

शनिबार दिउसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो। राति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी आएको थियो। 

स्थानीयवासीका अनुसार खिम्तीबजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ ।

बजारमा पार्किङ गरेका सवारीसाधनमा पनि बाढीले क्षति पुर्याएको छ। खहरेपुल निर्माणाधीन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो। 

खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरे पनि बाटो भत्किएका कारण अहिले बिहान प्रहरी घटनास्थलमा पुगी शव खोजिरहेको प्रहरी नायब उपरीक्षक ढुंगेलले बताए। 

प्रजिअ सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। 

चार वर्षअघि पनि खिम्तीमा बाढीले आठजनाको ज्यान लिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell