PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

धादिङका तीन गाउँपालिका र एक नगरपालिकाको आय–व्यय विवरण पारित



रासस

धादिङ :  दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय–व्यय विवरण पारित गरेका छन्। 

अन्य गाउँपालका र नगरपालिकाले आर्थिक वर्ष सुरु हुनुपूर्व नै आय–व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित गरेर लागू गर्नुपर्नेमा निर्वाचित जनप्रतिनिधि अलमलमा परेकाले समयमै सभा सम्पन्न हुन नसकेको हो। 

थाक्रे गाउँपालिकाले ३३ करोड ७१ लाख ६० हजारको आय–व्यय विवरण पारित गरेको छ । सिद्धलेक गाउँपालिकाले ३० करोड ५० लाख र गल्छी गाउँपालिकाले २७ करोड १६ लाखको आय–व्यय विवरण पारित गरेको छ। नीलकण्ठ नगरपालिकाले  ६९ करोड १४ लाख २८ हजारको आय–व्यय विवरण प्रस्तुत गरेको छ। 

आय–व्यय विवरण पारित गर्न सरकारले असार १५ गतेसम्म समय उपलब्ध गराएकामा केही गाउँपालिकाले कर्मचारी अभावमा समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ । 

आर्थिक वर्षको सुरुको दिनदेखि नै नियमित कामकाज गर्नुपर्ने भएकाले समयमै बजेट ल्याउन लागिपरेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन्। 

धुनीबेंसी नगरपालिकाले कार्यकारी अधिकृत र लेखाअधिकृत नभएकाले बजेट निर्माण गर्न नसकेको जनाएको छ। सरकारले वर्षको अन्तिम दिनमा मात्र कर्मचारी पठाएकाले अब एक सातामै आय–व्यय विवरण प्रस्तुत गरिने नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell