
पर्सा : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन्।
वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रीत दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे ।
वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने ठाकुरले बताए।
ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहोर्याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे।
उनले निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने बताए। रासस