
चितवन : संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र टिकौलीस्थित जैविक मार्गको सुरक्षाका लागि यहाँ ‘अस्थायी सुरक्षा चौकी’ स्थापना गरिएको छ।
जथाभावी गाडी रोक्ने सवारी चालकलाई जरिवानासहितको कारबाही गर्ने गरी स्थापना भएको चौकीको आज विहान उद्घाटन गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासनसँगको समन्यवमा आजदेखि चौकी स्थापना गरी जैविक मार्गमा कडाइ थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेल्चेक्र्याइँ गर्नेलाई आजदेखि जरिवानासमेत लिन थालिएको छ। लापर्बाही गर्नेलाई मुद्दासमेत चलाइने छ।
चितवन निकुञ्ज, जिल्ला वन कार्यालय, सशस्त्र वनरक्षक तालिम केन्द्र तथा नेपाली सेनाबाट आजदेखि सो क्षेत्रमा संयुक्त कारबाही चलाई सुरक्षामा कडाइ गर्न थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।
‘आजदेखि हेल्चेक्र्याइँ गरेर गाडी रोक्ने मोटरसाइकललाई १००, साना सवारीलाई ५०० र ठूला गाडीलाई एक हजार जरिवाना लगाएर कारबाही थालिएको पाठकको भनाइ छ।
यसअघि संरक्षणका लागि एक मिनेट भनेर सवारी चालकलाई सो कार्यक्रमबारे जानकारी दिइएको थियो। यहाँ सिसी क्यामेराबाटसमेत निगरानी गर्ने गरिएको छ।
यहाँको जैविक मार्गमा बाघ, गैंडा, चित्तल, जरायो, मृगलगायत वन्यजन्तु राजमार्गबाटै ओहोरदोहोर गर्छन्। गाडीले यस्ता वन्यजन्तुलाई हानेर भाग्ने गरेका छन्। गत एक वर्षको तथ्यांकमा यस क्षेत्रमा वन्यजन्तु आक्रमणमा १३ घटनामध्ये तीन घटनामा मात्रै कारबाही भएको छ।
रत्ननगर र भरतपुर जोड्ने पूर्वपश्चिम राजमार्गस्थित टिकौली जंगलको करिब ७ किलोमिटर क्षेत्र जैविक मार्ग छ। रासस