PahiloPost

Oct 15, 2019 | २८ असोज २०७६

२४ वर्षीया छोरीले दिइन् बावुलाई आफ्नै कलेजो

२४ वर्षीया छोरीले दिइन् बावुलाई आफ्नै कलेजो

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : गायक रामकृष्ण ढकालको चर्चित गीत छ : 
‘जति रुवाओस्, धर्धरी रुवाओस् 
आफ्नो मान्छे आफ्नै हुन्छ।’

हिराकाजीले आफ्नो परिवारलाई गीतमा भनेजस्तै सताएका थिए। कारण एउटै थियो– रक्सी। परिवारले लाखौँ सम्झाउँदा पनि उनले रक्सी त्यागेनन्।
 
रक्सीले कलेजो ड्यामेज गरायो। उपचारमा सम्पति पनि सकिँदै गयो।

‘जो मुटुको नजिक हुन्छ, त्यसले बढी चोट दिन्छ। तर, माया कहिल्लै मार्दैन,’ कलेजो दिएर बुवालाई बचाएकी २४ वर्षीया सरिताले कुराकानीको सुरुवात गरिन्, ‘उहाँ रक्सी खानुहुन्थ्यो। त्यसले हामीलाई चोट दियो। तर, उहाँले हामीलाई माया मार्नुभएन। आफ्नो कर्तव्य बिर्सनुभएन। त्यसैले, मैलै आफ्नो कर्तव्य पूरा गरेर उहाँलाई कलेजो दिए।’

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बुवालाई कलेजो दिएर बचाएकी सरिता भावुक छिन्।

भन्छिन्, ‘मैले कुनै ठूलो काम गरेको हैन, आफ्नो कर्तव्य पूरा गरेको हो।’

काठमाडौं लगनका हिराकाजी महर्जनलाई उनकी छोरी सरिता महर्जनले कलेजो दिएकी हुन्। भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रबाट सफल प्रत्यारोपण गरेर उनीहरु आज डिस्चार्ज भएका छन्।

प्रत्यारोपण केन्द्रमा भेटिएका हिराकाजी र उनकी छोरी अस्पतालबाट डिस्चार्ज हुने तरखरमा थिए। हिराकाजी ३ छोरीहरुको बीचमा पुनर्जीवन पाएकोमा खुशी देखिन्थे। 

हिराकाजीको पत्नी र जेठी छोरी भने त्यहाँ थिएनन्।

‘श्रीमतीको मृगौला फेल भएर डायलासिस गराइरहेको २ वर्ष भइसकेको छ। उनलाई कुर्न छोरी उतै निदान अस्पतालमा छे,’ हिराकाजीले दुःखी हुँदै सुनाए, ‘मलाई पनि बाच्ने आशा थिएन। छोरीले बचाई।’

दोस्रो जीवन पाएका हिराकाजी खुशी साथ जीवन बिताउने बताउँदै थिए। तर, श्रीमतीको मृगौला डायलासिस गरिरहेको सुनाउँदा उनको आँखामा आशु छल्किरहेको थियो। छोरीहरु भावुक देखिए।

जीवनको आश मारेका हिराकाजीले पुनर्जीवन पाउँदा पत्नी भने डायलासिस गराइरहेकी छिन् त्यसैले हिराकाजीको परिवार यतिबेला खुशी हुने कि दु:खी? उनीहरुले केही सोच्न नसकेको बताउँछन्।

हिराकाजी पहिले रक्सी खान्थे। आफ्नै 'नेवारी खाजाघर' भएकाले त्यहीबाटै रक्सीको लतमा फसेका थिए। 

‘रक्सी धेरै खानुभयो। बिरामी हुँदै जानुभयो। तर, छाड्नु भएन,’ सरिताले सुनाइन्, ‘अहिले रक्सीले नै बुवालाई खायो। धन्न अनेक गरेर बचायौँ।'
सरिताले यसो भनिरहँदा भन्दा हिराकाजीको मुहारमा पश्चाताप झल्किन्थ्यो। ‘अब कहिल्लै खान्न,’ ५७ वर्ष पुगेका हिराकाजीले रुन्चे हाँसो हाँसे।
हिराकाजीको कलेजोको समस्या पहिलादेखि नै थियो। महाराजगञ्जको टिचिङ अस्पतालमा उपचार भइरहेको थियो। 

टिचिङ अस्पतालले अपरेसन गर्नुपर्ने बतायो। अपरेसन अर्थात् ‘कलेजो प्रत्यारोपण’ नेपालमा सम्भव थिएन्।

उनीहरु भारत जान तयार भए। तर, तगारो आइलाग्यो पैसाको। डेढ करोड खर्च लाग्ने भनेपछि हिराकाजीले बाँच्ने आशा मारे।

त्यत्रो पैसा जम्मा गर्न उनीहरुको आयस्रोत केही थिएन। ऋण दिने कोही भएनन्।

हिराकाजी औषधिकै भरमा रहे। बेलाबेलामा उनी बेहोस हुन्थे। डाक्टरले कलेजो प्रत्यारोपण नगरे धेरै नबाँच्ने बताइसकेका थिए।

निदान अस्पतालमा उनलाई बेहोस भएर उपचार गर्न लगिएको थियो। डाक्टर दीपेश गुरुवाचार्य र पुकारचन्द्र श्रेष्ठले नेपालमै कलेजो प्रत्यारोपण सम्भव हुने सुनाए।

तर, जीवनको आश मारेका हिराकाजीले उनीहरुको कुरालाई ध्यान दिएनन्। उनलाई थाहा थियो – यहाँ पनि पैसा तगारो बन्नेछ।
हिराकाजीले पछिमात्र थाहा पाए- साइली छोरी सरीताले सबै प्रक्रिया बुझेर उपचार गर्ने मन बनाइसकेकी रहिछिन्।

‘मेरो उपचारमा धेरै खर्च नगर। म अब बाँचेर केही गर्न सक्ने हैन्,’ हिराकाजीले भावुक हुँदै विगत कोट्याए, ‘तर, छोरीहरुले उपचार गरेरै छाड्ने जिद्दी कसे। जति सम्झाउँदा पनि मानेनन्।’

उपचार गर्ने पक्का भयो। ४ जना छोरीमध्ये सरीताको ब्लड ग्रुप मिल्यो। चेक गर्दै जादाँ सरिताले कलेजो दिन मिल्ने भयो।

सरिता तयार भइन्। उनलाई जसरी पनि बुवालाई बचाउनु थियो। डाक्टरहरुले अपरेसन 'खतरा हुन सक्छ' भन्दा उनलाई रत्ती पनि डर लागेन।
 
‘मरे पनि बुवालाई बचाउँछु भन्ने सोचले म तयार भए,’ सरिताले भनिन्, ‘आफ्नो बुवाआमा बिनाको संसार के संसार भन्ने लाग्यो।’

हिराकाजी सयुक्त परिबारमा बस्छन्। उनीहरुको खाजाघर अहिले बन्द छ। छोरीहरुको सामान्य कामले जेनतेन परिवार चलिरहेको छ।  औषधि उपचारमा १० लाख पहिला नै सकिसकेको छ। पत्नीको औषधि उपचारमा मात्र मासिक ३० हजार सकिन्छ।

अब कलेजो ट्रान्सप्लान्ट गर्न २५ लाख कहाँबाट ल्याउने? 

सयुक्त परिवारमा बसेकाले घर बेच्न पनि सम्भव थिएन्। बेच्न चाहे पनि भूकम्पले चर्किएको लगनटोलको घर। तत्काल किन्न कोही तयार हुँदैन थिए। पैसा कसरी जुटाउने उनी दोधारमा थिए।

हिराकाजीले सतुंगलमा जग्गा जोडेका थिए - त्यो तत्कालै बेचे। ‘अलिकति जग्गा थियो। त्यो पनि सकियो, अब हाम्रो नाममा केही छैन,’ सरिताले भनिन्, ‘जग्गा नबेचेको भए बुवा बाँच्नु हुन्न थियो। सबै सम्पत्ती सकेर भए पनि बुवा बाच्नुभयो, त्यही ठूलो कुरा हो।’

११ घण्टा लामो समय लगाएर मानव अंग प्रयारोपण केन्द्रले  कलेजो प्रत्यारोपण गरेको जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार डाक्टर तथा नर्ससहित ३० जनाको टोलीले उनको शल्यक्रिया गरेको थियो। 

भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थ केयरका प्रमुख कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुभाष गुप्ताको सहयोगमा प्रत्यारोपण गरिएको श्रेष्ठले जानकारी दिए। 

शल्यक्रियामा भारतबाट १० जना प्राविधिकहरुको टोली संलग्न थिए भने केन्द्रबाट डा. सुबोध अधिकारी, डा. क्षेतेन योञ्जन तामाङ, डा. प्रबिन जोशी, डा. आरती राई, डा. किरण अधिकारी, डा. महालक्ष्मी देउजा, डा. दीपेश गुरुवाचार्य, डा. निरज जोशी, डा. सुभास आचार्य, इन्दिरा प्रधान, मेरीना राणा, अनिता कार्की, सृष्टी साह, शर्मिला कोजु लगायतको प्रत्यारोपणको टीम संलग्न रहेका थिए। 

नेपाली टोलीको नेतृत्व डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए।

डाक्टरहरुका अनुसार कलेजो फेल भएका बिरामीको बिग्रिएको कलेजोलाई शल्यक्रियाको माध्यमबाट निकालेर त्यस ठाउँमा अर्को कलेजो राख्ने काम नै कलेजो प्रत्यारोपण हो। 

मस्तिष्क मृत्यु भएकाहरुको शरीरबाट पूरै कलेजो निकालेर बिरामीमा राख्ने र जीवित मानिसको कलेजोको केही अंश काटेर बिरामीमा राखेर कलेजो प्रत्यारोपण गर्न सकिन्छ।

प्रत्यारोपण केन्द्रले महिनामा कम्तीमा एउटा अंग प्रत्यारोपण गर्ने जनाएको छ। 

चिकित्सकहरुका अनुसार नेपालमा हरेक वर्ष करीब एक हजार भन्दा बढीको कलेजो फेल हुने गरेको छ। शुरुवाती चरणमा नेपालमा करीब २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्ने बताइएको छ।  

भारत तथा अन्य विकसित देशहरुमा कलेजो प्रत्यारोपण गर्दा करीब १ करोड देखि डेढ करोडसम्म खर्च लाग्ने गरेको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell