
काठमाडौँ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरवातमा ३०१ श्ययाका लागि कायम भएको दरबन्दी अहिले करिब ७०० श्यया पुग्दा पनि स्थायी दरबन्दी थप हुन नसक्दा दीर्घकालीन सञ्चालनमा समस्या परेको छ।
विसं २०४० मा जापान सरकारको सहयोगमा अस्पताल सञ्चालनमा आएको थियो। अस्पताललाई आगामी मङ्सिरसम्ममा करिब ७० करोड रुपैयाँ बराबरको अत्याधुनिक चिकित्सकीय र शल्य उपकरण पनि जापान सरकारले उपलब्ध गराउने भएको अस्पतालले जनाएको छ।
भूकम्पको धक्का आएको दुई घण्टामै शल्यक्रिया सुरु गरेको अस्पतालले करिब दुई हजार ५०० घाइते भर्ना र उपचार तथा ६०० भन्दा बढी घाइतेको शल्यक्रिया गरेको थियो। भूकम्पका समयमा अस्पतालले दिएको सेवाको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको बताइएको छ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को ४६ औँ तथा शिक्षण अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अतुलनीय योगदान पुर्याएको र यो देशभरका बिरामीको पहिलो रोजाइ बन्ने गरेको बताए।
त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले आइओएमबाट माग भएका हरेक विषयलाई त्रिविले सम्बोधन गर्ने गरेकाले निजी शिक्षण अस्पतालको सिट सङ्ख्या घटे पनि सरकारी शिक्षण संस्थाको सिट बढाउनुपर्नेमा जोड दिए।
अस्पतालका निर्देशक डा दीपक महराले अस्पतालको सेवालाई छिटो र चुस्त बनाउन टिकट र ‘रिपोर्ट’लिने समयलाई व्यवस्थापन गर्न सुरु गरिएको र अस्पतालका बिरामी तथा अस्पतालकर्मीले खाने खानाको नियमित निगरानी गर्न थालिएको जानकारी दिए।
कार्यक्रममा भूकम्पका समयमा औषधि, उपकरण र आर्थिक सहयोग गर्ने व्यक्ति सङ्घसंस्थालगायत अस्पातलमा उत्कृष्ट सेवा गरेका कर्मचारी, चिकित्सक, परिचारिका, प्रविधिज्ञलगायतलाई सम्मान गरिएको थियो । रासस