
डाकारः सेनेगलको राजधानी डाकारमा फुटबल प्रतियोगितामा भएको झडपपछिको भागदौडमा पर्खाल भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
शनिबार साँझपख भएको फाइनल खेलमा दुई पक्षका समर्थकबीच विवाद उत्पन्न भएको थियो।
निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहँदा दुई पक्षधरको झडप भएको थियो।
झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किएको थियो।
भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीर घाइते भएका छन्।
पर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पुर्याउन सकेका थिए। उपचाररत ४९ मध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ।
फुटबल खेल भईरहेका बेला हुने यस्ता घटना अफ्रिकामा दुर्लभ भने होइनन्। दुई महिना अघि मात्र पनि एङ्गोलामा खेल भइरहेका बेला भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। रासस/सिन्ह्वा