PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

सरकारको सम्मानले ऊर्जा उद्यमी उत्साहितः भन्छन्–इतिहासमै पहिलो पटक जुरेको अवसर



रासस

  • रमेश लम्साल 
काठमाडौँ : मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ। 

विद्युत् विकास विभागको २४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा आयोजनालाई सम्मान गरिएको हो। 

नेपालको इतिहासमा ऊर्जा उत्पादकलाई सम्मान गरिएको यो नै पहिलो पटक हो। गैरसरकारी क्षेत्रबाट सम्मान पटकपटक भएपनि सरकारी तवरबाटै सम्मान गरेर ऊर्जा उत्पादकलाई आगामी दिनमा थप काम गर्ने उत्साह प्रदान गरिएको भन्दै सम्मानितले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। 

ऊर्जा उद्यमीलाई राष्ट्रिय योजना आयोगका सदस्य डा अरविन्दकुमार मिश्र, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय विभागका महानिर्देशक नवीनकुमार सिंहले संयुक्तरुपमा खादा ओढाएर सम्मान गरेका थिए। 

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले राज्यले लगानीकर्तालाई सम्मान गर्नुपर्छ भन्ने पुगेकामा आफूलाई खुसी लागेको बताए।
उनले यस्ता सम्मानले आगामी दिनमा थप आयोजना बनाउन उद्यमीलाई प्रेरित गर्ने बताए।

यस्तै, सानिमा माई हाइड्रो पावरका प्रबन्ध निर्देशक डा सुवर्णदास श्रेष्ठ राज्यको तर्फबाट पहिलो पटक सम्मान पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताउँछन्।

उनले भने,‘काम गर्दै गएपछि एक न एक दिन राज्यले सम्झन्छ भन्ने पुष्टि भएको र ऊर्जा क्षेत्रको विकासमा थप सहजीकरण गर्ने हो भने एकाध वर्षमा मुलुकले अपेक्षित सफलता हासिल गर्न सक्छ भन्ने प्रष्ट भएको छ।’ 

विद्युत् ऐन, २०४९ अनुसार २०५० साउन १ गते स्थापना भएको विभागले आज स्थापनाको २४ वर्ष पार गरेको छ। सोही ऐन कार्यान्वयनमा आएपछि मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रलेसमेत प्रवेश पाएको हो। 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई खिम्ती जलविद्युत् आयोजनाले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा ल्याएपछि मुलुकमा निजी क्षेत्रले पनि जलविद्युत् परियोजना निर्माण गर्न सक्छ भन्ने स्थापित भएको सन्दर्भमा गरिएको सम्मान सरकारी तथा निजी क्षेत्रकै सम्मान भएको बताए।

उनले जलविद्युत्को क्षेत्रमा प्राधिकरण र निजी क्षेत्रको उत्पादन हाराहारीमा नै पुग्न लागेका र यसले प्रतिस्पर्धी क्षमताको समेत विकास गरेको जानकारी दिए। 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी ऊर्जा उद्यमीका रुपमा प्राधिकरण पनि सम्मानित हुँदा स्वभाविक रुमपा खुसी लागेको बताउँछन्। 

मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको अवधिमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनार तिनका प्रवद्र्धकलाई सम्मान गरेर उनीहरुको लगानी र योगदानको समेत सम्मान गरिएको विभागका महानिर्देशक नवीनराज सिंहको भनाइ छ। 

उनले विभागले दु्रतरुपमा जलविद्युत् आयोजनाको विकासमा सहयोग पुर्याएको, नीतिगत सहजीकरण गरेको र आवेदन दिएको एकाध दिनमा नै सबै काम सकाउने गरी कार्यविधि बनाएर काम गरेका कारण आशातीत सफलता हासिल गरेको बताएको छ। 

ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्ने गरी सरकारले विभाग स्थापना गरेको हो।

विभागमा पछिल्लोपटक स्थापना भएको एकल डेस्कले प्रवद्र्धकका समस्या समाधानमा सहयोग पुर्याएको छ भने १०० मेगावाटसम्मका जलविद्युत् आयोजनाको अनुमति दिने काम गर्दै आएको छ।

विभागले हालसम्म कुल १३७ आयोजनाबाट तीन हजार ६८७ मेगावाट विद्युत् उत्पादन गर्न अनुमतिपत्र प्रदान गरेको छ। 

विसं २०५० पछि मुलुकको जलविद्युत् इतिहासमा निजी क्षेत्रले प्रवेश पाएको हो। हाल निजी क्षेत्रले कुल ५८ वटा आयोजनाबाट ४४५ मेगावाट र प्राधिकरणका १७ आयोजनाबाट करिब ४६८ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। 

कार्यक्रममा ऊर्जा सचिव उपाध्यायले राजनीतिक नेतृत्वले अगाडि सारेका केही प्रभावकारी कार्ययोजनाका आधारमा मन्त्रालयले मुलुकको ऊर्जा क्षेत्रको विकासमा सफलता हासिल गर्दै गएको र आगामी वर्षमा उल्लेख्य उपलब्धि हासिल गर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell