काठमाडौं : यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ।
विभागमा आइतबार बसेको विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो।
विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो बाटोमा धेरै सवारीसाधन आवतजावत गर्दा दुर्घटना धेरै हुँदै गएको भन्दै राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए। राजमार्गमा भाडाका साना सवारीसाधन चल्दै आएका छन्।
बैठकले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फर्म भर्ने व्यवस्थासमेत गरेको छ।
यसैगरी, विभागले आजदेखि देशभर सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ । विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा सुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बिपी राजमार्ग साँघुरो र सडकको अवस्था राम्रो नभएकाले आफूहरुले उक्त निर्णयमा सहमति जनाएको बताए। रासस