
भक्तपुर : नेकपा एमालेले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सरकारले निर्वाचन क्षेत्र बढाए कुनै हालतमा एमालेलाई मान्य नहुने निर्णय गरेको हो।
स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको बताए।
सरकारले गरेको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव मान्य नहुने बताउँदै उनले भने, “संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेको अडान छ ।”
बैठकले प्रदेश सभा निर्वाचनका लागि छिटोभन्दा छिटो सीमा निर्धारण गर्न छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेको छ। बैठकले मधेशवादी दलसँगको वार्ता जारी राख्ने निर्णयसमेत गरेको छ।
भट्टराईका अनुसार एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ।
उनले भने, “राजपा, विजयकुमार गच्छदार, उपेन्द्र यादवसँग एमालेको भइरहेको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, पार्टीले छलफलबाट ठोस परिणाम आउने अपेक्षा गरेको छ, छिट्टै सकारात्मक परिणामबाहिर आउनेछ ।”
आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै बैठकले प्रदेश र सङ्घको निर्वाचनका लागि आजबाट सुरु भएको मतदाता सङ्कलनको काममा सबैलाई समेट्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ।
एमाले बैठकले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख भट्टराईले ६ वटै प्रदेशका जनप्रतिनिधिलाई यही महिनाभित्र प्रशिक्षण दिने निर्णय गरेको बताए। एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको स्थगित भएको अधिवेशनका सम्पन्न गर्ने निर्णय गरेको छ । रासस