PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

निर्वाचन परिणाम समीक्षा गर्न आजदेखि माओवादी केन्द्रीय कार्यालय बैठक



पहिलोपोस्ट

निर्वाचन परिणाम समीक्षा गर्न आजदेखि माओवादी केन्द्रीय कार्यालय बैठक

काठमाडौँ: स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने उक्त बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुने जनाइएको छ।

प्रवक्ता पम्फा भुसालका अनुसार ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ।

यस्तै, प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने उनको भनाई छ। माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ।

यस्तै, बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell