PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

यहाँ एउटा देश र अर्को मधेश हुनै सक्दैन : भरत बिमल यादव



सूर्य खड्का

यहाँ एउटा देश र अर्को मधेश हुनै सक्दैन : भरत बिमल यादव

समय थियो संघर्षको। उनी दलहरुले तय गरेका हरेक जसो विरोध कार्यक्रममा निरन्तर सामेल हुन्थे। रिठ्ठो नबिराइ सहभागी हुने विरोध कार्यक्रममा उनी नारा लगाउथे, 'निरंकुश राजतन्त्र मूर्दाबाद।' उनी धर्ना बस्थे रत्नपार्कका सडकहरुमा। उनीसँगसँगै हुन्थे गिरिजाप्रसाद कोइराला, माधव नेपाल, नारायणमान बिजुक्छे, सीपी मैनाली, अमिक शेरचनहरु। संघर्ष सकियो, समय बदलियो। देश गणतन्त्रमा गयो। त्यसपछि यिनी क्रमशः ओझेल पर्दै गए। उनलाई लगभग भुल्दै गए सबैले। एक हिसाबले गुमनाम बन्दैछन् तत्कालीन सात दल मध्ये सदभावना पार्टी आन्दीदेवीका नेता। उनी अर्थात् भरत बिमल यादव अहिले रिसाएको मधेशको राजनीतिभन्दा पनि धेरै परको छायाँमा छन्। मधेश मामलाका धेरै दल र नेता छन् अचेल सत्तादेखि सडकसम्मको तराई मधेश राजनीतिमा। कहाँ छन् त भरत विमल? उनी असन्दार्भिक हुँदै गए कि पन्छाइए? जनआन्दोलनका एक कमाण्डर नेता यादवले पहिलोपोस्टका लागि सूर्य खड्कासँग व्यक्त गरेका ताजा विचार।

आजकल तपाईँ राजनीतिको मुलधारमा त हुनुहुन्न नै लगभग गुमनाम जस्तै हुनु भएको छ। किन?

म राजनीतिबाट अलग भएको छैन। हरेक दिन सबै साथीभाइसँग राजनीतिकै मन्थन भैरहन्छ। म कुनै दल विशेषमा छैन। मिडियाका साथीहरुले पनि सम्झिरहनु हुन्छ। पुराना साथीभाइले पनि सम्झिरहेका हुन्छन्। म राजनीतिक दलमा नभएको हो, राजनीतिबाट टाढा छैन।

तर, कुनै दलमा किन लाग्नु भएन? 

दलमा लाग्नका लागि लाग्ने होइन। मैले सदभावना पार्टीलाई फुटेको आँखाले पनि मान्छेले हेर्न नचाहेको बेला, सदभावनाप्रति घोर नकारात्मक भावना भएका बेला प्रत्यक्ष नेतृत्व दिएर अघि बढाएँ। जनआन्दोलनका बेला पार्टीलाई मुलधारमा ल्याएँ। तर, म पद र पैसाका लागि जुनसुकै हर्कत गर्ने खालको मान्छे परिन। त्यसैले मैले पार्टीमा आफैलाई निरन्तर गर्न सकिन। म जालझेल र खुट्टा तानातानको राजनीति गर्दिन। पार्टीमा आवद्ध भएर मात्रै हुँदैन। नीति विचार, सिद्धान्त, व्यवहार र शैली नमिलेमा कुनै पनि दलमा बसेर केही हुँदैन। पार्टीको कार्यनीति, रणनीति र उद्देश्यहरु मैले सोचे अनुसार नभएपछि म पार्टी राजनीतिबाट स्वेच्छिक रुपमा ओझेल परेको हुँ।

राजनीतिप्रति वितृष्णा जागेको हो कि?

मलाई राजनीतिबाट वितृष्णा नै भएको त हैन। हुन्न पनि होला। तर, मैले अहिलेको यो जर्जर राजनीतिमा आफू अलग्गै बस्न ठीक ठानेको हुँ।


फर्केर हेर्दा २०६३ को जनआन्दोलनको त्यो संघर्षको मैदानमा आफ्नो योगदान सम्झँदा कस्तो महसुस हुन्छ?

हेर्नोस् तपाईँले जुनसुकै वादको राजनीति गर्नुस् पहिलो शर्त हो लोकतन्त्र। मैले निरंकुश राजतन्त्रको अन्त्यका लागि त्यतिबेला निर्णायक लडाइ लडौं भनेरै सक्रिय नेतृत्व गरेको हुँ। हामीले संघर्षका सुरुका दिनमा जनताको विश्वास जित्न धेरै गाह्रो भएको थियो। रत्नपार्कका जुलुश वा धर्नामा मान्छे नै आउँदैनथे। एकातिर राजाको निरंकुशताको जगजगी थियो, अर्कोतिर जनताको हामी दलका नेतामाथि उत्तिकै अविश्वास थियो। 
तर हामीले इमान्दार रुपमा लोकतन्त्रका लागि लडेको हो भन्ने जनतालाई विश्वास दिलाएरै छाड्यौं। धेरै पछिमात्रै जनआन्दोलन सफल भयो। र,  लोकतन्त्र हामीले बहाली गरी छाड्यौं। मैले सदभावना पार्टीलाई लोकतन्त्र पुर्नस्थापनाको त्यो कठोर संघर्षमा स्थापित गरेँ। पार्टीप्रति आम रुपमा सकारात्मक धारणा बन्यो। 

ती सबै मैले कुनै स्वार्थ राखेर गरेका काम थिएनन्। त्यसैले मैले जे गरे, त्यसमा मलाई गौरव छ। हामी तत्कालीन सात दलका नेताहरुले बडो दु:खले मात्रै आन्दोलनको त्यो उभार ल्याएका थियौं। त्यतिबेला निरंकुश राजतन्त्रका विरुद्ध मैले जे जे गरे, गर्न सकेँ, मलाई त्यसमा कुनै पछुतो छैन। मैले कुनै फलको आशा गरेर त्यो सबै गरेको थिइन । त्यसैले मलाई मेरो त्यो संर्घषमा गौरव छ।

के अहिले त्यही संघर्षको भावना अनुसार देशको राजनीति अघि बढिरहेको छ त? 

यो प्रश्नको जवाफ तपाईँले मसँग भन्दा सत्ता चलाउने दलका साथीहरुलाई सोध्दा ठीक होला। मैले त कुनै शक्ति लिएर बसेको छैन। मलाई लाग्छ, हामीले निरंकुश राजतन्त्रका विरुद्ध संघर्षमा सफलता पाएकै हो। तर, त्यसपछिको अवस्था सम्हाल्न र संचालन गर्न नेतृत्वमा गएका साथीहरुले जनभावना अनुसार काम गरिरहे जस्तो मलाई लाग्दैन।

पछिल्लो समय मधेश र काठमाडौं बीचका मतभेदहरु, मनभेदको स्थितिसम्म बढिरहेको छ भनिन्छ। के अवस्था त्यस्तै हो?

यो सबै तपाईँको दृष्टिकोणमा भर पर्ने कुरा हो। तपाईँले मलाई सम्झिएर फोन गर्नु भो। कुरा गर्नु भो। समाधान के भनेर सोध्दै हुनुहुन्छ। तपाईँले मलाई गाली गरेर पनि लेख्न सक्नुहुन्थ्यो, वास्तै नगर्न पनि सक्नुहुन्थ्यो। 

मलाई लाग्दैन कि हामीकहाँ देश एउटा छ र मधेश अर्कै छ। त्यसरी देश फरक र मधेश फरक छ भन्ने सोच, चिन्तन र दृष्टिकोणको भ्रमका कारण धेरै समस्याहरु उत्पन्न भएका हुन्। मधेश भने पनि देश हो, देश भनेकै मधेश हो। मधेश नेपाल देशको अभिन्न अंग हो। आखिर तपाईँ हामी पहाडमा बसे पनि मधेश वा हिमाल जता बसे पनि भाइभाइ न हौं। हामी ठूलो छाती गरेर एक अर्काका समस्या बुझ्ने कोसिस गरौं, एक अर्कालाई सुन्ने र बुझ्ने प्रयास गरौं न। समस्या समाधान सुरु भैहाल्छ नि।

अहिले काठमाडौं र मधेश बीचमा कुनै समस्या छ भने त्यो सोचको, दृष्टिकोण र चिन्तनको समस्या हो। एकले अर्कोमाथि भरोसा नगर्ने जुन परिस्थिति छ, त्यो नकारात्मक भवानाको कारण समस्या बढेको हो। काठमाडौंको मधेश वा मधेशीप्रतिको मानसिकताको फरक र दूरदर्शिताको अभावमा नै यहाँ साना कुरा पनि ठूला समस्या झै बनेका छन्।

समाधानका सूत्र के हुन् त ?

हेर्नोस् भनाई नै छ नी शंकाले लंका पिट्छ। हामीकहाँ मधेश भनेपछि त्यस्तै भैरहेको छ। सबैको एक अर्कामाथि शंकैशंका छन्। कसैप्रति कसैको विश्वास नै छैन। अविश्वासले शंका जन्मायो, शंकाले लंका पिटाउँदै आएको हो। म सिंगै काठमाडौंलाई दोष दिन चहान्न।, तर शासनसत्तामा रहनेले मधेशी भन्ने बित्तिकै अविश्वास गर्ने स्थितिको अन्त्य हुनैपर्छ। मधेशमा पनि देश हाम्रो हो, हामीले बनाउनुपर्छ भन्ने सकारात्मक सोच आउन सक्नुपर्छ। आपसी अविश्वास समाप्त गर्न तपाई तत्पर हुनासाथ समस्या आफै समाधान हुन्छ। 

मधेशीहरु नेपालबाट छुट्टिन चहान्छन्, उनीहरु अर्कै देशका मान्छे हुन्। उनीहरु खराब हुन् भनेर सिंहदरबारबाट जबसम्म हेरिन्छ नि, समस्या त बल्झिरहन्छ। पहिले मान्छे सकारात्मक हुनु पर्यो, मान्छे सकारात्मक भएपछि उसले प्रतिनिधित्व गर्ने संस्था, निकाय जसलाई हामी राज्य भन्छौं, उनीहरु पनि स्वतः सकारात्मक हुँदै जान्छन्। मधेश भनेकै देश, मधेशी भनेकै नेपाली हौं भन्ने भावना काठमाडौं र मधेशका जनता बीच जागृत गराउने काम त राज्यको हो नि। दलहरुको हो,  दलका नेताहरुको हो।

मधेशप्रति फैलाइएको अफवाहको अन्त्य गर्न नागरिक समाज, मिडिया, वुद्धिजीविहरुको पनि उत्तिकै भूमिका आवश्यक छ।  मधेशीहरुले मधेश छुट्याउन लागेका छन्, उनीहरु नेपाली नै हैनन् भन्ने सोचका साथ व्यवहार सुरु गर्न थालेपछि त कहाँबाट कुरा मिल्छ? पहिलो कुरा सबैमा सकारात्मक भावना जागृत हुनु पर्यो। काठमाडौंका सत्तावाला र मधेशका नेताहरुले पहिले आफ्नो सोचमा रहेको खोट चिन्ने र छोड्ने हो भने समस्या ठूलो छैन।

तपाईँ ओझेलमा हुनुहुन्छ। सक्रिय नेतृत्वमा रहेका मधेशी दलका नेताहरु दिनहुँ जसो सत्ताधारी दलहरुसँग, सरकारसँग वार्ता पनि गरिरहेकै हुन्छन। तर, समस्या मिलेन भन्ने मात्रै परिणाम आउछ। किन होला?

हो, वार्ता हुने, छलफल हुने तर समाधान नआउने कुरा पनि आपसी अविश्वास र शंकाको कारण नै भएको हो। उपेन्द यादवजीले भन्थे नि बैठक गरियो, चिया खाइयो अनि आइयो। यस्तो किन भैरहन्छ भने एटिच्यूड नै गलत छ। सोच नै गलत छ। त्यसैले सोचमा परिवर्तन नआएसम्म वार्ता मात्रैले कुरा मिल्दैन।

अरु कुनै उपाय पनि होला नि यहाँको सुझावमा?    

सरकार भन्नुस् की मधेशी दल वार्ताप्रति इमान्दार हुनु पर्यो पहिले । एकले अर्कोलाई देखाउनका लागि मात्रै आफू वार्तामा बसेको देखाउनु भएन। आपसी अविश्वास हटाएर वार्ता थाल्ने हो भने कुरा पोजेटिभबाट सुरु हुन्छ। यहाँ त केपी ओलीको सरकारका पालादेखि अहिलेसम्म नेगेटिभबाट कुरा सुरु हुन्छ, अनि चिया गफमा सीमित हुन्छ।

सरकार वा मधेशी दलहरु बीच आफैमा एकले अर्कोलाई विश्वासमा लिने सामर्थ्य छैन भने मध्यस्तकर्ता प्रयोग गरेर पनि आपसी विश्वास बढाउन सकिन्छ। हाम्रै उदाहरण हेरौं न, माओवादीले युद्ध छोडेर शान्ति वार्तामा आफैँ एकै पटकमा आएको होइन नि। मध्यस्थकर्ताहरुको लामो र निरन्तर पहमा नै माओवादी सार्थक वार्ता हुँदै शान्तिमा आएका हुन् नि।

आपसी विश्वास बढाउन सरकार र मधेशी दलहरुले मध्यस्थकर्ताको खोजी गर्न सक्छन्। सरकार तर्फका पनि मधेश तर्फका पनि धेरै मान्छेहरु छन् मध्यस्थकर्ता बन्न सक्षम र योग्य। दुवैतर्फका लागि मान्य हुने मान्छेहरु राखेर सार्थक वार्ता सुरु गर्न सरकारले चाह्यो भने पनि समस्या समाधानको बाटो पत्ता लाग्छ। तर, सरकारले त्यतातिर ध्यानै दिइरहेको देखिँदैन।

मध्यस्थकर्ताहरुको कुरो मिलाउने बाहेक अरु स्वार्थ हुनु हुँदैन। उनीहरुले दुवै तर्फका कमजोरी पनि भनिदिन्छन। मिल्ने नमिल्ने कुरा पनि प्वाइन्ट आउट गरिदिन्छन्। दुरी छोटो पारेर उनीहरुले दुवै पक्षलाई सकारात्मक प्रेसर पनि दिन्छन्। अनि त कुरा मिल्न थालिहाल्छ नि।

तपाईँ आफै मध्यस्थकर्ता बन्ने प्रस्ताव आए स्वीकार गर्नुहुन्छ?

फेरि तपाईँले गलत बुझ्नु भयो। मेरो भनाइको तात्पर्य सरकार र मधेशी दलहरु बीचको आपसी अविश्वासको समाधान गर्न मध्यस्थकर्ताहरु खोजियोस् भनेको हो। मैले आफूलाई चाहियो भनेको होइन। म त्यस्तो भन्ने खालको मान्छे पनि होइन। यही अवस्था, शैलीले कहिले समस्या समाधान हुने त? समस्या तन्काउने मात्रैका लागि वार्ताको औचित्य छैन भन्ने मेरो भनाई हो। सरकारले चाहेमा मध्यस्थता गर्न एक से एक मान्छेहरु काठमाडौंमा छन्, मधेशमा पनि छन्। उनीहरुलाई सरकारले युज गर्न सक्छ भन्ने मेरो भनाई हो।

राजपाले ३१ वैसाख र १४ असारको चुनावमा भाग लिएन। फेरि असोज २ मा चुनाव हुँदैछ। राजपाले चुनावमा भाग लिनेमा अझैं शंका छ। के लाग्छ तपाईँलाई राजपा चुनावमा जाला अब?

राजपाले पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिए पनि उपेन्द्रजीहरुको दलले लियो। उनीहरुमा पनि चुनावबारे एकमत छैन भन्ने त देखिसक्यो। अन्य मधेशी दलले चुनाव रिजेक्ट गरेको भनेका छन्। यसले उनीहरुमा पनि मतभिन्नता बढ्दो छ भन्ने देखाउँछ। 
अब असोजको चुनावमा राजपाले भाग लिन्छ वा लिन्न भन्नेबारे मैले केही भन्न सक्दिन। उनीहरुले भाग लिएनन् भने चुनावी चुनौती थपिएला। समय बाँकी छ हेरौं।

तपाईँको सुझावमा राजपा अब चुनाव किन नजाने?

यो उहाँहरुको स्वतन्त्रताको कुरा हो। मैले भनेकै हुनुपर्छ भन्ने पनि होइन। तर वार्तामा कुरा नमिलेकाले उहाँहरु अहिलेसम्म त चुनावमा नजाने नै भनिरहनु भएको छ।

राजपाका नेताहरु वा अन्य सबै मधेशी नेताहरु प्रधानमन्त्री चयनको चुनावमा भोट हाल्छन्, अनि स्थानीय चुनावमा भोट नगर्न जनतालाई अपील गर्छन। यो ठीक हो र?

यो गलत हो। यसले उहाँहरुको द्वैध मानसिकतालाई उजागर गरेको छ। चुनाव त लोकतन्त्रको आधार स्तम्भ नै हो। जनताले चुनावमा भोट गर्न पाउनुपर्छ। मधेशी नेताहरुले प्रधानमन्त्रीको चुनावमा भोट हालेर स्थानीय चुनावमा जनतालाई भोट नहाल भन्ने अपील सही होइन। 
म त सधै चुनावको पक्षधर मान्छे हुँ। तर यहाँ चुनाव मात्रै गरेर कहिल्यै समस्या समाधान हुँदैन। समस्या समाधान गरेर गरिने चुनावले मात्रै समाधान दिन्छ भन्ने मेरो विश्वास हो।

असोजमा चुनाव होला दुई नम्बर प्रदेशमा?

सरकारले चाहेको भए देशैभरको चुनाव ३१ गते नै गर्न पनि सक्थ्यो। तर, उसले पहिलो सुरक्षा थ्रेट र दोस्रो आफ्नै स्वार्थका लागि मात्रै चुनाव पटक पटक गरेको छ। सरकारले चाहे अबको चुनाव पनि हुन सक्छ, मतदाताको सहभागिता पनि हुनसक्छ। तर चुनाव जति गरे नि समस्या नसुल्झेसम्म शान्ति भने हुँदैन।

चुनावप्रति मधेशका जनताको रुची, भाव चाहिँ कस्तो पाउनु भएको छ ? 

यो मात्रै होइन, कुनै पनि चुनावमा मधेशका जनताको सधै सकारात्मक व्यवहार पाएको छु मैले त। अहिले पनि यहाँका जनताले भोट दिन्छन भन्ने नै लाग्छ मलाई। तर जनताले मतदानमा भाग लिँदैमा मधेशका समस्या समाधान भए भन्ने अर्थ लगाइनु हुँदैन। लोकतन्त्रमा चुनाव एक नियमित प्रक्रिया हो। यहाँ त लामो लामो समय चुनाव रोकिदिएका कारण पनि भोट हाल्ने भनेपछि मानिसहरु निकै उत्साहित हुन्छन्।

तपाईँ आफै चाहिँ असोज २ को चुनावमा भोट दिन जानुहन्छ की जानुहुन्न?    

त्यो त्यतिबेलै थाहा हुन्छ हेर्नुस्। भोट हाल्ने मेरो अधिकार हो। राइट टु रिजेक्टको पनि अधिकार पनि त छ। लोकतन्त्रका लागि लडेका मेरा लागि भोटको महत्व छ। तर, मलाई भोटको भन्दा धेरै समस्या तन्किँदै जाने र बिग्रँदै जाने कुराले चिन्तित बनाएको छ। सरकारी रवैयाले मान्छेलाई सिके राउतको अतिवादतिर धकेल्दै लगेको देख्दा अति नै चिन्ता लाग्छ, असहैय भएर आउँछ। यस्तो नहोस् भन्नेमा मेरो जोड छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell