PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पहिलोपटक चितवनमा फिल्म प्रिमियर, सेन्सरमा जानुअघि 'संरक्षण'को विशेष शो तय



पहिलोपोस्ट

पहिलोपटक चितवनमा फिल्म प्रिमियर, सेन्सरमा जानुअघि 'संरक्षण'को विशेष शो तय

काठमाडौं: फिल्म संरक्षण युनिटले सेन्सर अघि नै फिल्म प्रिमियर तय गरेको छ। साउन २७ गते रिलिज टार्गैट गरेको फिल्म चितवन प्रिमियरबाट हुने जनाइएको छ। तर फिल्मको सेन्सर भने अझै भएको छैन। फिल्म सेन्सर बोर्डमा गएपछि कति कैंची लाग्छ र कुन सर्टिफिकेट प्राप्त गर्छ निश्चित छैन। पहाड र मधेस बिचको सामाजिक र राजनीतिक द्धन्द्धको कथा उठान गरेको फिल्मको ट्रेलर अहिले चर्चामा छ।

सेन्सर बोर्डका तर्फबाट चलचित्र पत्रकार संघका अध्यक्ष समेत रहेका सन्दिप सापकोटाले भने,'ट्रेलरको लागि सेन्सर प्रावधान छैन। त्यसैले फिल्म प्रचारका लागि ट्रेलरमा जस्ता मुद्दा र संवादले पनि ठाउँ पाएको छ। सेन्सरमा आउन्जेल युनिटका तर्फबाट सेल्फ सेन्सर भएर फिल्म आउन सक्छ।'

निखिल उप्रेती र सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘संरक्षण’को ट्रेलरको पनि संवाद र दृश्यका कारण सकारात्मक साथै नकारात्मक टिप्पणी भएको छ। सेन्सर नतिजा प्रतिक्षा बिच फिल्मको चितवनमा प्रिमियर हुने भएको हो। लक्की मिडिया हाउसले फिल्मको प्रिमियर आयोजना गरेको हो। साउन २५ गते नारायणघाटको क्यूएफएक्स जलमा फिल्मको कलाकारहरुको उपस्थितीमा रेड कार्पेट प्रिमियर हुने बताइएको छ।

'आउँदो हप्ता फिल्म सेन्सरका लागि आउँछ होला। कति दृश्य, कति संवाद काटिन्छ त्यसपछि मात्र थाहा हुन्छ', सन्दिप सापकोटाले जानकारी दिंदै भने,'दर्शक आकर्षित गर्नका लागि बनाइएको ट्रेलरको अंश फिल्ममा नदेख्दा दर्शकमाँझ राम्रो संदेश जाँदैन।'

चितवनका लागि फिल्मको प्रचारमा रहेको लक्की मिडियाका अनुसार पहिलोपटक चितवनमा फिल्मको प्रिमियर हुन लागेको हो। हरी कार्कीले भने,'फिल्मको प्रिमियर चितवनमा हुनु यहाँका दर्शकको लागि निकै खुसीको विषय हो। फिल्म प्रतिक्षित छ। सेन्सरमा कुनै समस्या आउँदैन भन्ने विश्वास छ।'

पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको फिल्ममा निखिल उप्रेती र सौगात मल्लसँगै कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी लगायतकोको मुख्य भूमिका रहेको छ। प्रदिपकुमार उदय र नरेन्द्र महर्जनको निर्माण रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। फिल्ममा हिमाल केसीको एक्सन छ, परवेश मल्लिकको संगीत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell