PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव



रासस

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

सोल : दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको  छ। प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ । 

रेडक्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग शान्ति वार्ताको प्रस्ताव गरेको हो। 

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेडक्रसले समय माग गरेको हो। 

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाउँमा आगामी शुक्रबार नै वार्ता गर्न प्रस्ताव राखेको छ। 

तर रेडक्रसले भने वार्ता आगामी अगष्ट १ का लागि प्रस्ताव गरेको जनाइएको छ। तर यस विषयमा उत्तर कोरियाकातर्फबाट कुनै जवाफ आएको छैन । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ। 

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने उद्देश्यले वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यदि यो प्रस्ताव उत्तर कोरियाले मान्यो भने सन् २०१५ को अक्टोबरपछि पहिलो पटक दुवै देशकातर्फबाट परिवारहरुको पुनर्मिलन हुनेछ। ती परिवारमध्ये सबैजनालाई नभएर छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिइनेछ । 

कोरिया यद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए। त्यस लगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजार भन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए । 

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ। 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell