
नयाँदिल्ली : भारतीय विदेशमन्त्री सुषमा स्वराजले आतङ्ककारी संगठन आइएसले इराकमा अपहरण गरेका ३९ जना भारतीय नागरिकलाई मोसुलको जेलमा राखेको हुनसक्ने बताएकी छन्।
ती भारतीयहरुलाई तीन वर्षअघि आइएसले अपहरण गरेको जनाएका थिए। उनीहरुलाई मोसुलको बादुसस्थित जेलमा राखिएको बारेको सूचना आफूले पाएको उनले जानकारी दिइन्।
उनले इराकको पश्चिमी भागतर्फबाट इराकी सेनाले मोसुल सहर कब्जागर्ने प्रक्रिया सुरु गरेको र अधिकांश आफ्नो नियन्त्रणमा लिइसकेकाले अब केही दिनमा सो जेलसम्म पुग्ने पनि बताइन्।
इराकी सेना त्यहाँ पुगेपछि भारतीय सो जेलमा भए नभएको बारेमा पत्ता लाग्ने पनि उनले जानकरी दिइन्।
बोदुससम्म पुग्न सक्यौँ भने हामीले उनीहरुको अवस्थाको बारेमा पत्ता लगाउने छौँ भनेर इराकी सेनाले जानकारी गराएको उनले बताइन्।
अपहरित परिवारका सदस्यसँग भेट गर्ने क्रममा गत जुन महिनामा विदेशमन्त्री स्वराजले मोसुलको चर्चबाट ती भारतीय नागरिकलाई अपहरण गरिएको जानकारी आफूले पाएको र उनीहरु सबैजना जीवितै रहेको बताएकी थिइन्।
इराकमा विभिन्न पेसा र जागिरमा रहेका ती भारतीय नागरिकलाई तीन वर्षअघि आइएसले अपहरण गरी बेपत्ता बनाएका हुन्। उनीहरुलाई छुटाउन भारतीय पक्षले जारी राखेका कूटनीतिक प्रयास भने अझै सफल हुन सकेका छैनन्। रासस/सिन्ह्वा