
काठमाडौं : किर्गिस्तानको बिस्केकमा भएको ११औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कास्य पदक जितेकी मनीता श्रेष्ठ प्रधान सोमबार सम्मानित भएकी छिन्।
मनीता अध्ययनरत रानीवनस्थित बाल विकास माविले उनलाई नगद १५ हजारसहित सम्मान गरेको हो।
बिस्केकमा मनीताले तीन राष्ट्रका खेलाडीलाई पराजित गर्दै करियरको छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी थिइन्। मनीताले भारत, उज्वेकिस्तान र ताजकिस्तानका खेलाडीलाई हराउदै पदक जितेकी हुन्।
नेपाल जुडो संघका उपमहासचिव एवं बन्दी सहायता नियोग (पाम) का जुडो प्रशिक्षक सूर्य श्रेष्ठले मनीतालाई विद्यालयको तर्फबाट नगद १५ हजार हस्तान्तरण गरे। ६ वर्षको उमेरदेखि पाममै आश्रित मनीतालाई सुरुवातदेखि नै श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।
पाममा मनीतासहित २६ जना आश्रित छन्। त्यस मध्ये एक बाहेक सबै जुडो खेल्छन् र सबै बाल विकास विद्यालयमै अध्ययनरत पनि छन्। हाल कक्षा १० मा अध्ययनरत मनीता पूर्ण छात्रवृत्तिमा बाल विकासमा युकेजीदेखि अध्ययन गरिरहेकी छिन्। मनीताले पदक जितेको खुशियालीमा पुरस्कार वितरण कार्यक्रमपछि विदा घोषणा गरिएको थियो।
१२औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता मनीताले २००९ सालदेखि जुडो खेल्न सुरु गरेकी थिइन्। २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगिता मनीताको ‘डेब्यु’ प्रतियोगिता हो। २०११ मै काठमाडौंमा भएको जुडो फर पिस दक्षिण एसियाली क्याडेट जुडो मनीताले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। ‘डेब्यु’ अन्तर्राष्ट्रिय सहभागितामै पदक जितेकी उनले त्यसमा कास्य जितिन्।
मनीताले २०१२ मा बंगलादेशको ढाकामा भएको आईजेएफ जुडो फर पिस दोश्रो दक्षिण एसियाली क्याडेट जुडोमा रजत, २०१३ मा भुटान–नेपाल जुडो ट्रनिङ क्याम्पका दौरान भएको प्रतियोगितामा स्वर्ण, २०१६ मा नेपालमा भएको सीडब्लुसीएन अन्तर्राष्ट्रिय जुडोमा स्वर्ण, भारतमा भएको १०औं एसियाली क्याडेट तथा १७औं एसियाली जुनियर जुडो प्रतियोगिताको क्याडेटतर्फ कास्य जितेकी थिइन्।
मनीता सिनियर एसियाली स्तरको प्रतियोगितामा एक ‘बाउट’ जित्ने पहिलो नेपाली महिला जुडो खेलाडी पनि हुन्। केहि महिनाअघि हङकङमा भएको एसियाली सिनियर जुडो च्याम्पियनसिपमा एक ‘बाउट’ जित्दै मनीताले इतिहास रचेकी थिइन्।
पुरस्कृत भएपछि मनीताले सम्मानले भविष्यमा अझ राम्रो गर्न हौसला मिलेको बताउँदै आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताइन्। मनीताले आफ्नो व्यक्तिगत र खेल जीवनलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने संस्था पामका साथै सबैलाई धन्यवाद दिदै आभार प्रकट गरिन्।
विद्यालयकी प्रिन्सिपल मैयादेवी मल्लले मनीतको सफलताले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको बताउँदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिइन्।
मनीतालाई सुरुआतदेखि जुडो सिकाइरहेका पामका प्रशिक्षक सूर्य श्रेष्ठले पाम, विद्यालय र जुडोलाई मात्र नभइ मनीताले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए।
एसियाली जुनियर जुडोमा मनीतासहित पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि किरण गदेलले जुलाई १५ तारिखमा प्रतिस्पर्धा गरेका थिए। दुई खेलाडी पदकविहीन रहे। मनीतासहितको खेलाडी टोली आइतबार स्वदेश फर्किएको हो।